पाटनबाट चोरिएको मूर्ति अमेरिकामा

मंसिर ५, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — पाटनको नारायण मन्दिरबाट ३५ वर्षअघि चोरिएको पुरातात्त्विक महत्त्वको ‘वासुदेव–कमलाजा मूर्ति’ अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा प्रदर्शनीमा राखिएको छ । सन् १९८९ मा प्रकाशित लैनसिंह बाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ (पृष्ठ २४८) मा समेत उल्लेख भएको यो मूर्ति सन् १९८४ मा चोरिएको थियो । डल्लास म्युजियम अफ आर्टमा प्रदर्शनीमा राखिएकाबारे अमेरिकी कलाविद् र क्युरेटरहरूले ‘नेपालबाट चोरिएको मूर्तिका रूपमा’ सार्वजनिक चासो देखाएका छन् ।

बाङ्देलले आफ्नो पुस्तकमा दिएको परिचयमा ‘एउटै मूर्तिमा देब्रेतर्फ विष्णु (नारायण) र दायाँपट्टि अर्धलक्ष्मी’ को आकृति छ । उक्त मूर्ति १५औं शताब्दीको रहेको बाङ्देलले उल्लेख गरेका छन् । पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले नेपालबाट चोरिएको यो कलाकृतिको आधिकारिता पुष्टि हुनासाथ इन्टरपोलमार्फत फर्काउन पहल सुरु हुने प्रतिक्रिया दिएका छन् । ‘सन् १९७० मा अनुमोदित सांस्कृतिक सम्पत्तिको गैरकानुनी आयात–निर्यातमा प्रतिबन्ध लगाउनेसम्बन्धी अभिसन्धिका आधारमा पनि पहिचानयुक्त मूर्ति फर्काउन सकिन्छ,’ गौतमले कान्तिपुरसँग भने । 


यसअघि पनि ‘स्टोलन इमेजेज अफ नेपाल’मा उल्लिखित मूर्तिहरू अमेरिका, बेलायत, जर्मनीलगायतका मुलुकमा पाइएपछि युनेस्को अभिसन्धिको प्रक्रियाबाट फिर्ता गराइएको थियो । नेपालबाट चोरिएका मूर्तिहरूको इतिहास र सांस्कृतिक महत्वलाई समेटेर सम्पदाविद् रविन्द्र पुरीले पनौतीमा प्रतिलिपि मूर्तिसहित ‘म्युजियम अफ स्टोलन आर्ट’ स्थापना गर्दै छन् । त्यसमा राख्न नेपालबाट हराएका र पुरातात्विक महत्व भएका २० वटा मूर्तिको ‘रिप्लिका’ तयार भइसकेको पुरीले जानकारी दिए । पुरीको यो योजना पनि वाङ्देलकै ‘स्टोलन इमेजेज अफ नेपाल’ मा समेटिएका मूर्तिहरूको इतिहास र वृतान्तमा आधारित छ ।

कान्तिपुर

Link copied successfully