ताप्लेजुङ — तमोर नदीको मोटरेबल पुलको ट्रस्ट जडान गरिएको छ । गाडी गुडाउन भने असारसम्म पर्खनुपर्नेछ । मेची र कोसी राजमार्ग जोड्ने उक्त पुलमा मेसिनबाट राख्नुपर्ने फलाम र त्यसमा नटबोल्ट लगाउने काम सकिएको उत्तर–दक्षिण लोकमार्ग आयोजनाले जनाएको छ ।
लोकमार्ग आयोजना प्रमुख कुवेर नेपालीका अनुसार अब पुलमाथि ढलान र रङ लगाउने काम मात्र बाँकी छ । १० वर्षअघि पुलको ठेक्का आह्वान गरिएको थियो । १० वर्ष अगाडिको तुलनामा बजार मूल्य बढेको र मूल्य समायोजन गर्नुपर्ने भएकाले रङ लगाउन पुन: सम्झौता गर्नुपरेको उनले बताए ।
फलामलाई खिया लाग्न नदिन र लामो समयसम्म टिकाइराख्न रङ लगाउनुपर्छ । नेपालीका अनुसार ढलानको काम भने तत्काल सुरु हुनेछ । ‘गिट्टी, बालुवा र रडलगायत सामग्री तयारी अवस्थामा छन्, अब काम धमाधम सुरु गर्छौं,’ उनले भने, ‘तीव्र गतिमा काम गर्दा पनि गाडी गुडाउन भने असार कुर्नुपर्नेछ ।’
पुल निर्माण सकेर अन्तिम भार परीक्षणपछि मात्रै गाडी गुडाउन अनुमति दिइन्छ । तोकिएकोभन्दा दुई वर्ष ढिलो गरी पुल निर्माण गरिएको छ । ७५ प्रतिशत काम सकिएपछि दुई वर्षअघि पुल बाढीले बगाएको थियो । ट्रस्टले आफ्नो भार ग्रहण गरिसकेको छ । ट्रस्टका लागि खोलामा बनाइएको पूर्वाधार निकालेर ढलानका लागि थप पूर्वाधार बनाइने नेपालीले बताए ।
ताप्लेजुङको दुई निर्वाचन क्षेत्र जोड्न सरकारले आर्थिक वर्ष २०६५/०६६ बाट निर्माण थालेको थियो । कन्काई, मैनाचुली, याक्थुङहाङ कम्पनीले १० करोडको लागतमा जिम्मेवारी पाएको थियो । निर्माण कम्पनीले ट्रस्टको जिम्मा भने हुलास कम्पनीलाई दिएको थियो ।
