कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

अर्को सार्क विश्वविद्यालय प्रस्ताव

आफ्नै मुलुकमा खोल्न श्रीलंकाको पहल
कान्तिपुर संवाददाता

काठमाडौं — दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले अर्को विश्वविद्यालयको अवधारणा अघि बढाएको छ ।

दक्षिण एसियाली विश्वविद्यालय सफल हुँदै गएको उदाहरण दिँदै अर्को विश्व विद्यालयलको अवधारणा अघि सारिएको हो । दक्षिण एसियाली विश्वविद्यालय स्थापना भएको ९ वर्षपछि सार्क सचिवालयले मेडिकल विश्वविद्यालयको अवधारणा प्रस्ताव गरेको हो । आगामी १९ औं शिखर सम्मेलनले उक्त प्रस्ताव पारित गरेपछि स्थापना प्रक्रिया अघि बढ्नेछ । 

शनिबार कोलम्बोमा सम्पन्न स्वास्थ्यमन्त्रीस्तरीय बैठकमा सार्क महासचिव अमजद हुसेन बी सियालले सार्क क्षेत्रमा स्वास्थ्य शिक्षा निकै महँगो रहेको र यसलाई सस्तो बनाउन र गुणस्तरीय शिक्षा उपलब्ध गराउन विश्वविद्यालय आवश्यक रहेको बताए । नयाँ सार्क विश्वविद्यालयको प्रस्ताव गर्दै उनले सहकार्यका अन्य मोडलसँगै स्वास्थ्य शिक्षा पनि अघि बढ्ने सुझाए । स्वास्थ्य क्षेत्रमा सार्क कमजोर रहेको भन्दै उनले ग्रामीण क्षेत्रमा रहेको स्वास्थ्य सेवाको महँगो र अप्ठ्यारो अवस्था सम्बोधन गर्न यो विश्वविद्यालय उपयुक्त हुने बताए ।

सार्क क्षेत्रमा सर्ने र नसर्ने दुवै रोगको महामारी छ । यसको रोकथामका लागि सार्कले बेलैमा सहकार्य गर्नुपर्ने भन्दै महासचिव अमजदले सार्कमा जनतालाई सर्वसुलभ अध्ययनका लागि दक्षिण एसियाली मेडिकल विश्वविद्यालय आवश्यकता औंल्याएका हुन् । सार्कको छैटौं स्वास्थ्यमन्त्रीस्तरीय बैठकमा प्रस्तावित उक्त अवधारणालाई आठै सदस्य मुलुक नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तानले सकारात्मक रूपमा लिएका छन् । श्रीलंकाले उक्त विश्वविद्यालय आफ्नो मुलुकमा नै राख्न पहलसमेत गरेको छ । सार्क विश्वविद्यालयमा झैं यसमा पनि सरकारको अनुदान र सार्कबाहेक मुलुकबाट पनि केही प्राध्यापक ल्याउने अवधारणा रहेको जनाइएको छ । दिल्लीमा रहेको सार्क विश्वविद्यालय पनि ७ हजार विद्यार्थी र सात सय प्राध्यापकको अवधारणामा अघि बढेको हो । त्यसअनुरूप उक्त विश्वविद्यालयले पूर्णता भने पाइसकेको छैन ।

प्रकाशित : श्रावण २१, २०७४ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?