बिहान, दिउँसो र राति जागै रहन्छ
मुग्लिन (चितवन) — पुथ्वी राजमार्ग अन्तर्गत पर्ने चितवनको मुग्लिन बजारको नाममा थुप्रै गीत बनेका छन् । त्यही गीतमध्येको एक माथि उल्लेखित पनि हो
‘मुग्लिन झरेसी,
मज्जा आउला रेलीमाई टडक चढेसी...’
। २०५० तिर निर्माण भएको चलचित्र ‘ट्रक ड्राइभर’ को यहीे गीतले मुग्लिन पुगेपछि ट्रक चढ्न पाइन्छ भन्ने सन्देश दिन्थ्यो । त्यो बेला मुग्लिनबाट ट्रक चढेर गन्तव्यमा पुग्नुको विकल्प हुँदैन थियो । गाडी पाउन मुस्किल पथ्र्यो । ट्रक चढ्न पाउनु नै भाग्यमा लेखे बराबर मानिन्थ्यो ।
पुरानो मुग्लिनका साक्षीमध्ये एक हुन् ६९ वर्षीय जयलाल श्रेष्ठ । यहाँ ०२५ मा बस्तीको सुरुवात भएको थियो । उनी ०३३ मंसिर ५ गते गोरखाको भुम्लीचोकबाट यहाँ झरे । त्यसबेला बजार विकास भएको थिएन । काठैकाठका २७ घर थिए । काठमाडौंसम्म ६ बस दिउँसो मात्र चल्थे, रातिमा चल्थेनन् । ८/९ वटा थकालीका होटल थिए । ५ अन्य पसल थिए । अहिले बजार भएको ठाउँमा खेत थियो ।
तामिनका त्रिपाठी, कुरिनटारका सिलवाल र सापकोटा खेतका मालिक थिए । हातको १ रुपैयाँमा घडेरी मिल्थ्यो । यही बेला चाइनिज टोली आएर नारायणगढ–मुग्लिन खण्ड सर्भे थाल्यो । ०३४ मा निर्माण सुरु गरी ०३६ मा ट्रयाक खुल्यो । ०३८ मा पिच सडक सञ्चालनमा आयो । त्रिशूलीमा पहिला किस्तीबाट पोखरा जाने गाडी तारिन्थ्यो । पोखरातर्फ भने ०२७ मा सडक खुल्यो । त्यसपछि मुग्लिन चम्किन थाल्यो । ‘मेचीदेखि महाकालीसम्मको केन्द्र मुग्लिन भयो,’ श्रेष्ठले भने, ‘काठमाडौं जाने एक मात्र केन्द्र मुग्लिन बन्यो ।’
उनका अनुसार व्यापार, व्यवसाय र घर बनाएर बस्न १९ जिल्लाबाट यहाँ मानिस आए । ‘सुरुमा चिया पसल गरे,’ उनले भने, ‘३५ पैसा कप चिया बिक्री गर्थे, २ वर्ष चियापसल गरी किराना पसलमा हात हाले ।’ अहिले कालो चियाको मूल्य १५ र दूध हालेको २० रुपैयाँ पर्छ । ‘त्यो बेला सादा खानाको २ रुपैयाँ थियो, मासु खानाको ४ रुपैयाँ पथ्र्यो,’ उनले भने, ‘अहिले सादा खानाको १२५ र मासु खानाको २६० रुपैयाँ (मटन खाना) छ ।’ पहिला पाथीको हिसाबले चामल किनिन्थ्यो । बासमती चामल पाथीको १० रुपैयाँ र जिरा मसिना ७ रुपैयाँ पथ्र्यो । अहिले किलोको १२० रुपैयाँ बढी पर्छ ।
समयले कोल्टे फेर्यो । जसले गर्दा ठाउँ फेरियो । मूल्य बढ्यो । पत्नी तीलकुमारीसँगै मुग्लिन झरेका श्रेष्ठका २ छोरा, १ छोरी छन् । छोराछोरी मुग्लिनमै जन्मिए हुर्किए । मुग्लिनकै नन्दप्रसाद त्रिपाठीको घरमा ५ वर्ष भाडामा बसे । उनले जग्गा किन्दा हातको हजार रुपैयाँ पुगिसकेको थियो । १५ हजारमा १५ हात जग्गा किने । ‘फुसको सानो घर बनाएर बसें,’ उनले भने, ‘०५२ मा नयाँ घर बनाएँ ।’
चितवनको साबिकका ५ गाविस दारेचोक, चण्डीभञ्ज्याङ, काउले, दाहाखानी, कविलास, तनहुँका छेप्केश्वरी, आँबुखैरहनी, गोरखाको ताक्लुङ, मकैसिंह, भुम्लीचोक, मनकामनाको व्यापारिक केन्द्र मुग्लिन थियो । नुन, तेल र खाद्यान्न किन्न आउनेको भीड लाग्थ्यो । पहिला गाडी कम गुड्ने भएकाले राति ८ बजेपछि बजार सुनसान हुन्थ्यो । भूत लाग्छ भन्दै डरले कोही बाहिर निस्कँदैन थिए । पहिला गाडीभन्दा धेरै ट्रक चल्थे । बाटो खुलेपछि पनि दैनिक ६/७ हजार ट्रक मुग्लिन हुँदै गन्तव्यतर्फ जान्थे । अहिले गाडीको संख्या बढयो । धेरै सवारीसाधनले गर्दा सडक उपयुक्त भएन । ‘मुग्लिनले होटलका लागि प्रख्याति कमायो,’ उनले भने, ‘पहिला राति सुनसान हुने मुग्लिन अहिले गुल्जार बन्छ ।’ मुग्लिन बिहान, दिउँसो र राति जागै रहन्छ ।
जब सडक खुल्यो । तब यहाँ बस्ती बढदै गयो । ०३८/३९ बाट भीड बढदै गयो । नाइट बस चल्न थाले । मुग्लिनमा सबैभन्दा बढी नेवार समुदायको बसोबास छ । त्यस्तै थकाली, क्षत्री, बाहुन, गुरुङ, मगर, मुस्लिम, दलित समुदायको बसोबास पनि छ । सबै समुदायमा मिलेर बसेका छन् । जातजातिको निहुँमा झगडा हुँदैन । एक जातिलाई समस्या पर्दा अर्कोले सहयोग गर्न तत्पर रहन्छ । समुदायमा एकरूपता छ । सबै जातजाति मिलेर बसेका छन् । ‘यसरी मुग्लिन चम्किएला भन्ने लागेको थिएन,’ उनले भने, ‘नसोचेको भयो, अहिले मुग्लिन सबैको मुटु बनेको छ ।’
अहिले मुग्लिनमा खाना मात्र पाइँदैन । सिजनअनुसारका फलफूल पनि पाइन्छ । ‘जताबाट आएका गाडी पनि मुग्लिनमा रोक्थे, यात्रुले यही खाना खान्थे,’ उनले भने, ‘त्यसपछि खाजा खान धादिङको नौबीसे पुग्थे ।’
पहिला खाना खुवाउन होटल व्यवसायीबीच प्रतिस्पर्धा चल्थ्यो । अहिले त्यो छैन । सबैका चिनजानका गाडी छन् । सम्बन्धले चालक आउँछन् । गाडी रोक्छन् । खाना खुवाएर यात्रुलाई लग्छन् । ‘मुग्लिनलाई नारायणगढसँग जोड्ने मोटरबाटोले चम्कायो,’ उनले भने, ‘अब त झन २ लेनको बाटो बन्दै छ ।’
‘मुग्लिनको भविष्य राम्रो छ,’ वडा सचिव लामिछानेले भने, ‘जताबाट आए पनि ठोक्किने ठाउँ मुग्लिन नै हो ।’ पहिला यो दारेचोकको ४ नम्बर वडामा पथ्र्यो । अहिले इच्छाकामना गाउँपालिकाको ५ नम्बर वडामा पर्छ । मुग्लिनको विकास तीव्र रूपमा हुँदै गएको छ ।
