लक्ष्मी मृत्यु प्रकरण : छानबिनको माग गर्दै वीरगन्जमा प्रदर्शन

३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै उनका माइती पक्षले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सोमबार वीरगन्जमा प्रदर्शन गरेका छन् ।

श्रावण ११, २०८३

शंकर आचार्य

Laxmi Death Case: Protest in Birgunj Demanding Investigation

What you should know

पर्सा — पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा शुक्रबार ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै उनका माइती पक्षले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सोमबार वीरगन्जमा प्रदर्शन गरेका छन् ।

ठोरी गाउँपालिका-३ रामनगर माइती भएकी दुई सन्तानकी आमा लक्ष्मी शुक्रबार बिहान आफ्नै घरछेउको गोठमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। तर उनको मृत्यु आत्महत्या नभई हत्या गरेर शव झुन्ड्याइएको दाबी गर्दै माइती पक्षले प्रदर्शन गरेको हो ।

पोस्टमार्टमपछि शव नारायणी अस्पतालको शवगृहमा राखिएको छ। पोस्टमार्टम प्रतिवेदन नआएसम्म शव नबुझ्ने अडान लिँदै माइती पक्षले चार दिनदेखि शव अस्पतालमै राखिएको जनाएको छ। घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै मृतकका आफन्त, स्थानीय महिला तथा परिवारजन ठोरीबाट वीरगन्ज आएका थिए। उनीहरूले नयाँ बसपार्क चोकबाट नाराबाजीसहित घण्टाघरसम्म प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्र बुझाउँदै ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मीले लक्ष्मीको हत्या गरी शव गोठमा झुन्ड्याइएको आरोप लगाइन्। घटनामा मृतकका पति सुधिर सिलवाल, सासू-ससुरा तथा नन्द-भिनाजुको समेत संलग्नता रहेको भन्दै सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ।

ज्ञापनपत्रमा पोस्टमार्टम प्रतिवेदन त्रुटिपूर्ण रहेको भन्दै पुनः पोस्टमार्टम गर्नुपर्ने, घटनाको निष्पक्ष छानबिनका लागि स्वतन्त्र जाँचबुझ समिति गठन गर्नुपर्ने, मृतकको मोबाइल र ब्याग सार्वजनिक गर्नुपर्ने तथा आरोपित सासु, ससुरा, नन्द र भिनाजुलाई तत्काल पक्राउ गर्नुपर्ने माग उल्लेख गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार मृतकका पति सुधिर सिलवाललाई घटना भएकै दिनदेखि नियन्त्रणमा राखी अनुसन्धान भइरहेको छ। सासू र ससुरालाई पनि प्रारम्भमा नियन्त्रणमा लिइएको भए पनि वृद्ध अवस्थालाई ध्यानमा राख्दै मृतककै आफन्तको सहमतिमा तारिखमा छाडिएको उनले बताए।

लक्ष्मीको माइती पक्षले अवकाशप्राप्त नेपाली सेनाका कर्मचारी रहेका सुधिर सिलवाल लागू पदार्थ सेवन गर्ने व्यक्ति रहेको र उनले पटक-पटक श्रीमतीमाथि कुटपिट गर्दै आएको दाबी गरेको छ । घटनाको अघिल्लो रात पनि दम्पतीबीच झगडा भएको, घटनास्थलमा फुटेका चुरा, कोठाबाहिर रगतजस्तो देखिने दाग, पासो लगाएको भनिएको डोरी नबाँधिएको अवस्था तथा शव गोठको भुईंमा सुताइएको अवस्थामा भेटिनुले घटना शंकास्पद देखिएको उनीहरूको दाबी छ। 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully