धान रोपाइँ सिजनमा गण्डक नहरको पानी रौतहटको १३ नम्बर ब्लकसम्म पुगे पनि त्यसपछिका किसानले यस वर्ष पनि सिँचाइ सुविधा पाउने संभावना छैन।
What you should know
पर्सा — धान रोपाइँको मुख्य सिजनमा गण्डक नहरको पानी रौतहटको १३ नम्बर ब्लकसम्म पुगेको छ। तर त्यसपछिका क्षेत्रमा भने यस वर्ष पनि पानी पुग्न नसक्ने भएको छ।
नारायणी सिंचाइ व्यवस्थापन कार्यालय वीरगञ्जका सूचना अधिकृत इन्जिनियर मुकेश ठाकुरका अनुसार नहरको पानी हाल रौतहटको बंकुल क्षेत्र (ब्लक नम्बर १३) सम्म पुगेको छ। त्यसपछिका ब्लकसम्म पानी पुर्याउन नहरकै पूर्वाधार दुरुस्त नरहेकाले त्यहाँका किसानले सिँचाइ सुविधा पाउने सम्भावना नरहेको उनले बताए।
उनका अनुसार भारतीय पक्षले यस वर्ष पनि सम्झौताअनुसार असार १० गतेदेखि नै ८ सय ५० क्युसेक पानी उपलब्ध गराउँदै आएको छ। यही परिमाणको पानी नहरमा प्रवाह भइरहेकाले पर्सा, बारा र रौतहटका अधिकांश सिंचित क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको उनले बताए ।
नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार धान बालीका लागि हरेक वर्ष असार १५ देखि असोज १५ सम्म तीन महिनासम्म तथा गहुँ बालीका लागि पुस १० देखि आवश्यक परिमाणमा ८ सय ५० क्युसेक पानी उपलब्ध गराउने व्यवस्था छ। नवलपरासीको भैंसालोटनस्थित नेपाल–भारत सीमामा रहेको गण्डक ब्यारेजबाट भारतीय पक्षले पानी छाड्ने गर्छ।
गण्डक नहर भारततर्फ करिब ९२ किलोमिटर यात्रा गरेर पर्साको जगरनाथपुर गाउँपालिका–स्थित जानकीटोलाबाट नेपाल प्रवेश गर्छ। नेपालतर्फ यसको लम्बाइ ८१ किलोमिटर रहेको छ भने पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजन गरिएको छ।
भारतले निर्माण र सञ्चालन गर्दै आएको गण्डक ब्यारेज सन् १९७५ र १९७६ मा दुई चरणमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। गण्डक नहरबाट पर्सा, बारा र रौतहटका करिब ३७ हजार ४ सय हेक्टर कृषि जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहे पनि रौतहटका अन्तिम क्षेत्रमा नियमित रूपमा पानी नपुग्ने समस्याका कारण लक्षित क्षेत्र पूर्णरूपमा सिंचित हुन सकेको छैन।
