‘बटिया’ खेतको आस, रोपाइँ डुब्दा किसान निरास

बटैयामा लिएको डेढ विघा खेतमा रोपाइँ गरेका छन् । तर, खेत जलमग्नभन्दा पनि उनलाई अझैसम्म मल पाउने टुंगो नरहँदाको चिन्ता छ ।

असार ३१, २०८३

विद्यानन्द राम

Farmers disappointed as hopes for 'Batiya' fields dwindle as plantings sink

राजविराज — सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६, कोइलाडी मधेपुराका ५० वर्षीय मुन्नी साह जलमग्न भइसकेको खेततिर हेर्दै चिन्तित देखिन्थे । डेढ विघा बटिया (बटैया) खेतमा गरेको रोपाइँ वर्षा र नहरको पानीले जलमग्न हुँदा उनी चिन्तित छन् । उनीसँग एक कठ्ठा मात्रै आफ्नो खेत छ । त्यही मात्रै खेतमा खेती गरेर परिवारको गुजारा नचल्ने देखेपछि उनी बटैयामा खेत लिएर रोपाइँ गरेका छन् । 

मल अभावका बाबजुद रोपाइँ गरे पनि ३/४ दिनदेखि उनको खेत जलमग्न छ । उनलाई अहिले रोपेको धान टुलुटुलु हेर्नुबाहेक अरू विकल्प छैन । ‘वर्षा र नहरको पानीले सहजै सिँचाइ भयो तर मल अभाव रहँदा केही दिन रोपाइँ गर्न पर्खे पनि,’ उनले भने, ‘पहिलो चरणमा डिलरले मल बिक्री गरिरहँदा त्यहाँ पुगे तर पुग्दासम्म मल सकिसकेको भनेर जवाफ पाउँदा निरास भएर फर्किए ।’ 

बाध्य भएर मल नहाली रोपाइँ सकाएर पनि अझैसम्म मल नपाएको उनले गुनासो गरे । ‘मलको खोजीसँगै खेतमा पानी कहिले घट्छ भन्ने पर्खाइमा छु,’ उनले थपे, ‘अझै २/३ दिन वर्षा नभए त पानी सुक्छ पनि । तर वर्षा भए पैंचोसापटी गरेर अहिलेसम्म लगाएको लगानी पनि डुब्ने चिन्ताले सताइरहेको छ ।’ 

Farmers disappointed as hopes for 'Batiya' fields dwindle as plantings sink

स्थानीय ७२ वर्षीय सतन साहको पनि खेत जलमग्न छ । उनी पनि बटैयामा लिएको डेढ विघा खेतमा रोपाइँ गरेका छन् । तर, खेत जलमग्नभन्दा पनि उनलाई अझैसम्म मल पाउने टुंगो नरहँदाको चिन्ता छ । ‘किसानको पीडा कसले बुझ्छन् ?, यसपालि मौसमले साथ दिँदा अलिक छिट्टै रोपाइँ गरे तर हाम्रो लागि मलको समस्या पुरानै हो,’ उनले भने, ‘खेतमा मल नहाले उत्पादन हुँदैन । आज (मंगलबार) जस्तै घाम लाग्यो भने पानी सुक्छ नै । त्यसपछि मल हाल्नु अति जरुरी छ तर हामीले मल पाउने टुंगो छैन ।’ 

उनले सबैतिर गुहार्दा पनि मल नपाएको गुनासो गरे । ‘मल ल्याउन पारी (भारत) जान सोचेको थिए तर प्रहरीले खोसिहाल्यो भने दुई पटक मल किन्ने पैसाको समस्या देखेर हिम्मत गर्न सकिन,’ उनले थपे, ‘उत्पादन गर्न सकिएन भने बालबच्चाको जीविकोपार्जन कसरी चलाउने भन्ने चिन्ताले निदाउन पाएको छैन ।’ 

उनीहरुका खेतसहित त्यस भेगका ४० विघाभन्दा बढी रोपाइँ जलमग्न छ । त्यहाँ दुई चरणमा गरी साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडबाट पाएको १ हजार २ सय १८ बोरा डिएपी मल बिक्री भएको छ भने तेस्रो चरण अन्तर्गत १ सय ३२ बोरा डिएपीमध्ये केही डिलरले लग्न बाँकी छ । त्यहाँ कृषि सामग्री कम्पनी लिमिटेडबाट पनि १ सय ९८ बोरा डिएपी र ९ सय ६० बोरा यूरिया बिक्री भएको छ । 

Farmers disappointed as hopes for 'Batiya' fields dwindle as plantings sink

तर, अझै खपतअनुसार मल परिपूर्ति नहुँदा अधिकांश किसानले एक बोरा पनि मल पाउन सकेका छैनन् । केहीले एक बोरासम्म मल पाए पनि रोपाइँको अनुपातमा प्रयाप्त नरहेको स्थानीयहरुको गुनासो छ । गाउँपालिकाका कृषि शाखाका सहायक प्रमुख शैलेशकुमार मिश्रले अर्को चरणमा कृषि सामग्री कम्पनी लिमिटेडबाट १ सय ८४ बोरा डिएपी, ९६० यूरिया र प्रत्येक डिलरका लागि २५/२५ बोरा पोटास ल्याइने तयारी भइरहेको बताए । 

‘प्राप्त भएको रसायनिक मल आवश्यकताअनुसार अत्यन्तै न्यून हो,’ उनले भने, ‘केही हदसम्म किसानलाई सहुलियत भए पनि अब प्राप्त हुने मल पनि प्रयाप्त होइन ।’

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully