गर्मीमा झ्यापझ्याप बत्ती जाँदा वीरगन्जवासी आजित

वीरगन्जमा विद्युत् ट्रिपिङले सर्वसाधारण आजित

असार २८, २०८३

शंकर आचार्य

पर्सा — प्रचण्ड गर्मीमा पंखाको भरमा रात बिताइरहेका वीरगन्ज र आसपासका बासिन्दा पछिल्ला दिनमा बारम्बार हुने विद्युत् ट्रिपिङका कारण हैरान भएका छन् । रातिको समयमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा सर्वसाधारणको निन्द्रा बिथोलिएको छ भने मध्यम तथा न्यून आय भएका परिवार सबैभन्दा बढी प्रभावित बनेका छन् ।

एक सातायता रातिको समयमा बत्ती जाने क्रम बढेपछि आक्रोशित स्थानीयले नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रमा पुगेर घेराउसमेत गर्न थालेका छन् । तर स्थानीयको दबाबका बाबजुद विद्युत् सेवाको गुणस्तरमा अपेक्षित सुधार आउन सकेको छैन । 

वीरगन्ज–घडिअर्वाका मुन्ना सर्राफले विशेषगरी रातिको समयमा अत्यधिक ट्रिपिङ हुने गरेकाले सर्वसाधारणले सास्ती खेप्नुपरेको बताए। ‘घरमा इन्भर्टर राख्ने वा एसी चलाउने क्षमता भएकालाई त्यति समस्या नहोला,’ उनले भने, ‘तर यी दुवै सुविधा लिन नसक्ने मध्यमवर्गीय परिवारले गर्मी र अन्धकार दुवै सहनुपरेको छ।’

 हरपतगन्जका दामोदर प्रसाद यादवले ग्रामीण क्षेत्रमा इन्भर्टर र एसी प्रयोग गर्नेको संख्या कम भए पनि सहरी क्षेत्रमा हुने विद्युत् समस्याको असर गाउँसम्म पुग्ने गरेको बताए। ‘हामीलाई सहरजस्तो धेरै विद्युत् चाहिएको होइन, नियमित आपूर्ति मात्रै भए पुग्छ,’ उनले भने, ‘त्यो पनि सहज रूपमा नपाउँदा निकै सास्ती भएको छ।’ उनका अनुसार रातिको समयमा तीनदेखि चार पटकसम्म बत्ती जाने गरेको छ ।  

वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले पछिल्लो समय जगदम्बा स्टिललगायत औद्योगिक क्षेत्र आसपासमा पनि ट्रिपिङको समस्या बढेको बताए। उनका अनुसार उद्योगहरूमा विगतदेखि नै विद्युत् अवरोधको समस्या रहे पनि पछिल्लो समय घरेलु उपभोक्ता अझ बढी प्रभावित भएका छन्।

 नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर विजय महतोले गर्मी बढेसँगै वितरण प्रणालीमा अत्यधिक भार परेकाले ट्रिपिङ बढेको बताए। पछिल्लो समय घरघरमा एसी जडान गर्ने क्रम बढेकाले ट्रान्सफर्मरमाथि क्षमताभन्दा बढी भार परेको उनको भनाइ छ। ‘एउटा ट्रान्सफर्मरले सीमित संख्यामा मात्रै एसीको भार थेग्न सक्छ,’ उनले भने, ‘धेरै ठाउँमा क्षमताभन्दा बढी लोड हुँदा ट्रान्सफर्मरको तीन फेजमध्ये एउटा फेज निष्क्रिय हुन्छ र एमसीबी ट्रिप हुन्छ।’

 महतोका अनुसार वीरगन्जमा उच्च जनघनत्व, अव्यवस्थित सहरीकरण तथा पुराना विद्युत् संरचनाका कारण मर्मत–सम्भार र संरचना विस्तार गर्न कठिनाइ भइरहेको छ। विद्युत् उत्पादन वा आपूर्तिमा अभाव नरहे पनि वितरण प्रणालीमा बढ्दो भार, मर्मतका क्रममा स्थानीयबाट हुने अवरोध तथा संरचना विस्तारमा आउने समस्याका कारण सेवा प्रभावित भएको उनले बताए।

उनले स्थानीयको सहयोगबिना वितरण प्रणाली सुधार गर्न कठिन हुने उल्लेख गर्दै गर्मीयामभरि ट्रिपिङको समस्या पूर्ण रूपमा समाधान गर्न चुनौती रहेको बताए।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully