ठोरी सीमा नाका र छोटी भन्सार तत्काल सञ्चालन गर्न माग

ठोरी क्षेत्रमा होटल, रिसोर्ट, होमस्टे, यातायात तथा पर्यटनसँग सम्बन्धित पूर्वाधारमा हालसम्म करिब एक अर्ब रुपैयाँभन्दा बढी निजी लगानी भइसकेको र उक्त लगानीबाट सयौं स्थानीयले प्रत्यक्ष तथा हजारौंले अप्रत्यक्ष रूपमा रोजगारी पाएको ज्ञापनपत्रमा उल्लेख ।

असार २२, २०८३

शंकर आचार्य

Demand to immediately operate Thori border checkpoint and small customs

What you should know

पर्सा — पर्साको ठोरीस्थित नेपाल–भारत सीमा नाका तथा छोटी भन्सार कार्यालय तत्काल सञ्चालनमा ल्याई पर्यटकको आवागमन सहज बनाउन माग गर्दै पर्यटन विकास समिति, ठोरीले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ।

समितिका सचिव रवि पौडेलले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा ठोरी सीमा नाका ऐतिहासिक, पर्यटकीय तथा आर्थिक दृष्टिले नेपाल–भारतबीचको महत्त्वपूर्ण प्रवेशद्वार रहेको र विक्रम सम्वत् १९११ देखि सञ्चालनमा रहेकामा दुई देशबीच सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय तथा व्यापारिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख छ ।

ठोरी मधेश प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित भइसकेको र चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र, धार्मिक तथा ऐतिहासिक स्थल, जंगल सफारी तथा प्राकृतिक सौन्दर्यका कारण स्वदेशी र विदेशी पर्यटक आकर्षित हुँदै आएको ज्ञापनपत्रमा उल्लेख छ।

ठोरी क्षेत्रमा होटल, रिसोर्ट, होमस्टे, यातायात तथा पर्यटनसँग सम्बन्धित पूर्वाधारमा हालसम्म करिब एक अर्ब रुपैयाँभन्दा बढी निजी लगानी भइसकेको र  उक्त लगानीबाट सयौं स्थानीयले प्रत्यक्ष तथा हजारौंले अप्रत्यक्ष रूपमा रोजगारी पाएको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा नेपाल सरकारले ठोरीमा छोटी भन्सार कार्यालय स्थापना गरे पनि आवश्यक कर्मचारी र व्यवस्थापनको अभावमा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको र पछिल्ला तीन दिनदेखि सीमा सुरक्षा निकायले भारतीय पर्यटकलाई नाकाबाटै फर्काइरहेकाले यसले पर्यटन व्यवसाय, स्थानीय अर्थतन्त्र तथा नेपालको अन्तर्राष्ट्रिय पर्यटन छविमा नकारात्मक असर परेको उल्लेख छ ।

समितिले ठोरी सीमा नाकाबाट पर्यटकको आवागमन तत्काल सुचारु गर्न, भारतीय पर्यटकलाई अनावश्यक रूपमा फर्काउने कार्य रोक्न, छोटी भन्सार कार्यालयमा आवश्यक कर्मचारीको व्यवस्था गरी नियमित सञ्चालन गर्न, राजस्व संकलन र सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा ठोरीलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न आवश्यक सरकारी सहयोग उपलब्ध गराउनसमेत माग गरेको छ।

स्थानीय जनजीवन, पर्यटन व्यवसाय, रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा पर्न गएको असरलाई दृष्टिगत गर्दै सम्बन्धित निकायसँग समन्वय गरी ठोरी सीमा नाका र छोटी भन्सार कार्यालय यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक पहल गरिदिन समेत ज्ञापनपत्रमा माग गरिएको छ । ज्ञापनपत्र बुझाउने टोलीमा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, होटल तथा पर्यटन व्यवसायी संघका केन्द्रीय सदस्य हीरा श्रेष्ठ लगायतका सहभागी थिए ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले आफूले केन्द्रसम्म ठोरीका व्यवसायीको माग पुर्‍याउने काम गर्ने प्रतिबद्धता जनाए । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण मैनालीले ठोरी छोटी भन्सार नाकाबाट भारतीय पर्यटकको सवारी साधनलाई प्रवेश इजाजत दिन नसकिने कानुनी असमर्थता जनाएका थिए । उनले पनि भन्सार विभागको आदेश आएमा मात्र यो काम गर्न सक्ने बताएका थिए । सशस्त्र प्रहरी उपरीक्षक मोहनसिंह क्षेत्रीले ठोरी नाकामा मात्र भारतीय पर्यटकलाई प्रवेश सुविधा दिए जिल्लाका अन्य नाकाबाट पनि दिनुपर्ने परिस्थिति सिर्जना हुने र यसले अपराधको दर पनि बढाउन सक्ने खतरा रहेको बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully