स्थानीयको अवरोधपछि वीरगञ्जमा अतिक्रमित संरचना हटाउने काम राेकियो, निकास खोज्ने प्रयासमा सरोकारवाला

सडक डिभिजन कार्यालय हेटौँडाले शुक्रबार दिउँसोदेखि त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जको मुख्य सडक क्षेत्रमा सडक सीमा अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान सुरु गरेको हो।

असार २०, २०८३

शंकर आचार्य

Work to remove encroached structures in Birgunj halted after locals obstruct, stakeholders in efforts to find a solution

पर्सा — स्थानीयको अवरोधपछि रोकिएको वीरगञ्जको मुख्य सडक क्षेत्रमा सडक सीमाभित्र परेका घर तथा संरचनामा डोजर चलाउने अभियान अघि बढ्न सकेको छैन। विवाद समाधानका लागि शनिबार सरोकारवाला निकायको बैठक बस्ने भएको छ।

सडक डिभिजन कार्यालय हेटौँडाले शुक्रबार दिउँसो करिब १ बजेदेखि त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जको मुख्य सडक क्षेत्रमा सडक सीमा अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान सुरु गरेको थियो। कृषि औजार कारखानासम्मका संरचना हटाइसकेपछि साँझ करिब ५ बजे बहुअरी क्षेत्रका स्थानीयले डोजर सञ्चालनमा अवरोध गरेपछि अभियान रोकिएको हो।

स्थानीयले वीरगञ्ज महानगरपालिकासँग आवश्यक समन्वय नगरी सडक विस्तारको काम अघि बढाइएको भन्दै यस विषयमा सरोकारवाला निकायबीच छलफल जारी रहेकाले तत्काल डोजर चलाउन नदिने अडान लिएका थिए।

सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादले अवरोधपछि उत्पन्न अवस्थाको निकास खोज्न शनिबार दिउँसो सरोकारवालाको बैठक बोलाइएको जानकारी दिए। उनका अनुसार बैठकमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, सडक डिभिजनका प्राविधिक तथा सम्बन्धित पक्षको सहभागिता रहनेछ।

‘केन्द्रबाट सडक विस्तारको काम अघि बढाउन निर्देशन प्राप्त भएको छ,’ उनले भने, ‘तर स्थानीयस्तरमा कुनै विवाद सिर्जना नगरी सहमतिका आधारमा काम अगाडि बढाउने उद्देश्यले छलफल गर्न लागिएको हो। बैठकबाट समाधान निस्किने अपेक्षा गरेका छौँ।’ उनका अनुसार अभियान महानगरको उत्तरी क्षेत्रबाट सुरु गरी क्रमशः दक्षिणतर्फ नेपाल–भारत सीमा क्षेत्रसम्म विस्तार गर्ने योजना छ।

सडक डिभिजन कार्यालय हेटौँडाले असार ५ मा वीरगञ्ज महानगरपालिकालाई पत्राचार गर्दै त्रिभुवन राजमार्गअन्तर्गत सिरसिया–मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्म सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउने कार्यमा सहयोग गर्न अनुरोध गरेको थियो। महानगरबाट अपेक्षित समन्वय हुन नसक्दा त्यसबेला अभियान अघि बढ्न सकेको थिएन।

यसअघि पनि कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सडक सीमाभित्र रहेका संरचना स्वयं हटाउन अन्तिम समयसीमा दिएको थियो। गत वैशाख ६ र ७ गते पहिलो चरणमा सडक विभागले मुख्य सडक क्षेत्रका करिब १२ सय घर तथा भवनमा डोजर चलाएको थियो। त्यसक्रममा अधिकांश संरचनाको अगाडिको भाग हटाइएको थियो भने सडक सीमाभित्र परेका बाँकी संरचना २५ दिनभित्र आफैँ हटाउन सम्बन्धितलाई आग्रह गरिएको थियो। तर तोकिएको समयसीमा बितिसक्दा पनि धेरै संरचना यथावत् रहेपछि विभागले दोस्रो चरणको हटाउने अभियान सुरु गरेको हो।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully