हुण्डी कारोबार : पर्सामा तीन वर्षमै डेढ करोडभन्दा बढी रकम बरामद

भारत पुगेको नेपाली रुपैयाँ विभिन्न व्यक्तिमार्फत पुनः नेपाल भित्र्याएर अवैध रूपमा कारोबार गरिने गरेको छ।

असार २०, २०८३

शंकर आचार्य

Hundi transaction: Over Rs 1.5 crore seized in Parsa in three years

पर्सा — नियमित रूपमा पक्राउ र कानुनी कारबाही भइरहे पनि पर्सामा अवैध हुण्डी कारोबारमा उल्लेख्य कमी आएको देखिएको छैन । पछिल्ला तीन आर्थिक वर्षको पर्सा प्रहरी तथ्यांकले पक्राउ पर्ने व्यक्ति र बरामद रकमको आधारमा हुण्डी कारोबार निरन्तर भइरहेको देखाएको छ।

पर्सा प्रहरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत हुण्डी कारोबारसम्बन्धी मुद्दामा अनुसन्धान र कारबाही जारी रहेको दाबी गर्छ । पक्राउ पर्ने अधिकांश व्यक्ति रकम ओसारपसार गर्ने भरिया हुने गरेका छन् भने कारोबार सञ्चालन गर्ने मुख्य गिरोहसम्म पुग्न भने चुनौती कायमै छ।

भारत पुगेको नेपाली रुपैयाँ विभिन्न व्यक्तिमार्फत पुनः नेपाल भित्र्याएर अवैध रूपमा कारोबार गरिने गरेको छ। खुला सीमा र अनौपचारिक माध्यमको प्रयोगका कारण यस्तो कारोबार नियन्त्रण गर्न कठिनाइ भइरहेको उनीहरूको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा हुण्डी कारोबारसम्बन्धी ७ मुद्दा दर्ता भएका थिए। ती घटनामा ११ जना पक्राउ परेका थिए भने ६२ लाख ८१ हजार ५ सय रुपैयाँ बरामद गरिएको थियो।

गत अर्थिक वर्षमा ८ मुद्दा दर्ता हुँदा ९ जना पक्राउ परेका थिए। उक्त अवधिमा ६६ लाख ७४ हजार रुपैयाँ बरामद भएको थियो। चालु आर्थिक वर्षमा हाल सम्म ८ वटा मुद्दा दर्ता भइसकेका छन्। ती घटनामा १२ जना पक्राउ परिसकेका छन् भने ५३ लाख २१ हजार ४ सय ७० रुपैयाँ बरामद भएको प्रहरीको तथ्यांक छ।

तथ्यांकले प्रत्येक वर्ष हुण्डीसम्बन्धी मुद्दा र पक्राउको संख्या लगभग उस्तै देखिएको छ। बरामद रकम पनि उच्च रहेकाले नियन्त्रणका प्रयास हुँदाहुँदै अवैध हुण्डी कारोबार प्रभावकारी रूपमा रोक्न नसकिएको देखिन्छ।

पर्सा प्रहरी प्रवक्ता डीएसपी राजु कार्की खुला सीमाको दुरुपयोग गर्दै हुने अवैध वित्तीय कारोबार नियन्त्रणका लागि निगरानी र अनुसन्धानलाई थप प्रभावकारी बनाउने बताउँछन् । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully