प्रहरीले चलाएको दुई राउन्ड गोलीमध्ये एक गोली लागुऔषध कारोबारी समूहका अब्दुल कलामको खुट्टामा लागेको छ ।
सिरहा — सिरहा प्रहरी र लागुऔषध कारोबारी समूहबीच गोली हानाहान भएको छ । नवराजपुर गाउँपालिका-५ स्थित सीमावर्ती क्षेत्रमा प्रहरी र लागुऔषध कारोबारी समूहबीच गोली हानाहान परेको हो ।
लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको कमान्डमा शुक्रबार दिउँसो त्यहाँ प्रहरी टोली पुगेको थियो । प्रहरी टोलीले कारोबारी समूहलाई नियन्त्रणमा लिन खोज्दा गोली हानाहान भएको हो ।
त्यस क्रममा लागुऔषध कारोबारी समूहले प्रहरीतर्फ एक राउन्ड गोली हानेका थिए । तर, कसैलाई लागेन । त्यसपछि प्रहरीले चलाएको दुई राउन्ड गोलीमध्ये एक गोली लागुऔषध कारोबारी समूहका भारतको मधुवनी जिल्लाका अब्दुल कलामको खुट्टामा लागेको छ ।
यस्तै, यसै समूहका अन्य २-३ जना भने फरार भएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए । डीएसपी पालका अनुसार, अब्दुल यस समूहका मुख्य व्यक्ति हुन् । उनीहरूले ठूलो मात्रामा व्यावसायिक ढंगले भारतबाट नेपालतर्फ लागुऔषधको कारोबार गर्दै आएका थिए ।
प्रहरीले उनको साथबाट १ सय २२ ग्राम ब्राउन सुगर र एक थान कटुवा पेस्तोल पनि बरामद गरेको छ । अब्दुलको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अन्यको खोजी तथा थप अनुसन्धान कार्य भइरहेको डीएसपी पालले जनाए ।
