सडक डिभिजन हेटौंडाले गण्डक क्षेत्रबाट डोजर चलाउँदै मुख्य सडकको सीमाभित्र रहेका संरचना हटाउन दोस्रो चरणको अभियान थालेको छ ।
What you should know
पर्सा — वीरगन्ज महानगरपालिकाको मुख्य सडक क्षेत्रमा सडक सीमाभित्र परेर नहटाइएका संरचनामा शुक्रबारदेखि पुनः डोजर लगाइएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले दिउँसो १ बजेदेखि गण्डक क्षेत्रबाट डोजर चलाउन थालेको हो ।
सडक डिभिजन हेटौंडाका इन्जिनियर तथा वीरगन्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादले शुक्रबार २ वटा डोजर परिचालन भएको बताए । शनिबार थप २ डोजर आउने र आवश्यक परे डोजरको संख्या थप्दै लगिने पनि उनले जानकारी दिए ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको कार्यकक्षमा भएको सहमति अनुसार हाल आर्थिक वर्षको अन्त्यको समय परेकाले विद्युत लाइन काटेर डोजर चलाइने छैन । सालतमामीको समय सकिएपछि यो अभियानलाई थप जोडतोडका साथ अघि बढाइने योजना बनाइएको छ । महानगरको उत्तरी भेगबाट सुरु गरिएको अभियान क्रमशः दक्षिणी भेग हुँदै नेपाल भारत सीमासम्मै सन्चालन गरिने छ ।
गत असार ५ मा सडक डिभिजन हेटौंडाले वीरगन्ज महानगरपालिकालाई पत्राचार गर्दै त्रिभुवन राजमार्गअन्तर्गत सिरसिया–मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडकखण्डमा सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र रहेका बाँकी स्थायी तथा अस्थायी संरचना हटाउने कार्यमा सहयोग गर्न अनुरोध गरेको थियो ।
तर त्यतिबेला यो अभियान सफल हुन सकेन ।
यसअघि पनि कार्यालयले सार्वजनिक सूचनामार्फत घर नभत्काएका धनीहरुलाई भत्काउन अन्तिम समयसीमा दिएको थियो । गत वैशाख ६ र ७ मा सडक विभागले पहिलो चरणमा मुख्य सडक क्षेत्रका करिब १२ सय घर तथा भवनमा डोजर चलाएको थियो । त्यसक्रममा अधिकांश संरचनाको अगाडिको भाग भत्काइएको थियो भने सडक सीमा क्षेत्रमा परेका संरचना २५ दिनभित्र आफैं हटाउन सम्बन्धितलाई आग्रह गरिएको थियो । तर समयसीमा सकिँदासमेत धेरै संरचना यथावत रहेपछि विभागले दोस्रो चरणको अभियान अघि बढाएको हो ।
घर भत्काइएका धनीहरुले वीरगन्ज र काठमाडौंमा समेत प्रदर्शन गरेर बिरोध जनाउँदै थप नभत्काउन दबाब दिँदै आएका थिए । बिहीबार नै वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुको एक टोलीले रास्वपा सभापति रवि लामिछानेलाई भेटेर ज्ञापनपत्र बुझाउँदै वीरगन्जको मुख्य सडक विस्तारको विषयमा सरकारलाई पुनर्विचार गर्न आग्रह गर्दै ऐतिहासिक तथा व्यापारिक महत्व बोकेको बजार क्षेत्र जोगिने गरी पुरानै निर्णय अनुसारको एलाइनमेन्ट कार्यान्वयन गर्न माग गरेको थियो ।
