वीरगन्जका सफाइकर्मीको आन्दोलन टुंगियो,  नियमित काममा फर्किए

आन्दोलनरत श्रमिक र सरसफाइको जिम्मा पाएको ठेकेदार कम्पनीबीच महानगरपालिकाको पहलमा भएको वार्तापछि श्रमिक काममा फर्किएका हुन्।

असार १५, २०८३

शंकर आचार्य

Birgunj sanitation workers' strike ends, return to regular work

पर्सा — वीरगन्ज महानगरपालिकामा  सरसफाइकर्मीको आन्दोलन आइतबार सहमतिसँगै टुंगिएको छ। आन्दोलनरत श्रमिक र सरसफाइको जिम्मा पाएको ठेकेदार कम्पनीबीच महानगरपालिकाको पहलमा भएको वार्तापछि श्रमिक काममा फर्किएका हुन्।

महानगरपालिकाको सभाहलमा कार्यवाहक प्रमुख इम्तियाज आलमको पहल तथा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहोराको उपस्थितिमा भएको छलफलपछि दुवै पक्षबीच विभिन्न विषयमा सहमति भएको हो। वार्तामा जनप्रतिनिधि, वडाध्यक्ष, महानगरका कर्मचारी तथा आन्दोलनरत सफाइकर्मीका प्रतिनिधिको सहभागिता रहेको थियो।

सहमतिअनुसार सरसफाइकर्मीलाई प्रत्येक महिनाको ५ देखि १० गतेभित्र तलब भुक्तानी गरिने, नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू गरिने तथा ८ घण्टाभन्दा बढी काम गराए नियमानुसार ओभरटाइम भत्ता उपलब्ध गराइने व्यवस्था गरिएको छ।

त्यस्तै, कामका क्रममा घाइते भएका श्रमिकको प्राथमिक उपचार खर्च ठेकेदार पक्षले व्यहोर्ने, आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउने र श्रमिकमाथि कुनै पनि प्रकारको दुर्व्यवहार नगर्ने विषयमा पनि सहमति भएको छ। नागरिकतासम्बन्धी प्राविधिक समस्याका कारण काम गुम्ने अवस्थामा रहेका रैथाने नेपाली सफाइकर्मीलाई कामबाट नहटाइने उल्लेख गरिएको छ।

महानगरपालिकाका कार्यवाहक प्रमुख आलमले सरसफाइ सेवा अवरुद्ध हुन नदिन श्रमिकका जायज माग सम्बोधन गर्दै समाधान खोजिएको बताए। नगरलाई स्वच्छ र व्यवस्थित बनाउन सफाइकर्मीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनीहरूको श्रमको सम्मान गर्न महानगर प्रतिबद्ध रहेको उनले बताए।

सम्झौतापत्रमा सरसफाइ व्यवस्थापनको जिम्मा पाएको एन के इन्टरनेसनल म्यानेजमेन्ट प्रालिका सञ्चालक शिवकुमार गुप्ता तथा आन्दोलनरत श्रमिकका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

आन्दोलन अन्त्यसँगै केही दिनदेखि रोकिएको फोहोर संकलन तथा व्यवस्थापनको काम आइतबारदेखि पुनः सञ्चालन भएको छ। 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully