सशस्त्र प्रहरीद्वारा २३ लाख बराबरका भन्सार छलीका सामग्री बरामद

सशस्त्र प्रहरी बलले पर्साका विभिन्न नाकाबाट कपडा, किराना, मदिरा, फलफूललगायत २३ लाख ९ हजार रुपैयाँभन्दा बढीको सामान र सवारी साधन बरामद गरेको हो ।

असार १४, २०८३

शंकर आचार्य

Armed Police seize customs evasion materials worth Rs. 2.3 million

What you should know

पर्सा — सशस्त्र प्रहरी बलले पर्साका विभिन्न सीमा नाकाबाट भन्सार छली गरी ओसारपसार हुँदै गरेका २३ लाख ९ हजार ३०५ रुपैयाँ बराबरका सामान तथा ती सामान ढुवानीमा प्रयोग भएका सवारी साधन बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मुख्यालय पर्साका अनुसार आइतबार वीरगञ्ज महानगरपालिका–१६ इनरुवा सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले भन्सार छली गरी भारतबाट ल्याई सिरसिया नदी किनारको झाडीमा लुकाएर राखिएको ७ लाख ७२ हजार बराबरका विभिन्न प्रकारका कपडा बरामद गरेको हो । बरामद सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

आइतबार नै इनरुवा र कोनिया नाकामा खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको ४ लाख ५२ हजार ९०५ रुपैयाँ बराबरका किराना सामग्री, कस्मेटिक, मदिरा, तरकारी र स्याउ बरामद गरेको जनाएको छ । उक्त सामान ओसारपसारमा प्रयोग भएका १ वटा ई–रिक्सा र १ वटा साइकलसमेत नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

शनिबार पनि वीरगञ्ज महानगरपालिका–१६, १७ र २१ अन्तर्गत इनरुवा, कोनिया, परवानीपुर तथा अलौ क्षेत्रमा सञ्चालन गरिएको निगरानीका क्रममा १० लाख ८४ हजार ४ सय रुपैयाँ बराबरका कपडा, मोबाइल टेम्पर्ड ग्लास, किराना सामान, फलफूललगायतका सामग्री बरामद गरिएको थियो । ती सामान ओसारपसारमा प्रयोग भएका १ वटा टेम्पो, १ वटा मोटरसाइकल र ३ वटा साइकलसमेत नियन्त्रणमा लिई आइतबार भन्सार कार्यालयमा बुझाइएको छ ।

सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले सीमा क्षेत्रमा भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको बताए । उनले यस्ता गतिविधिविरुद्ध अभियान निरन्तर जारी रहने पनि जानकारी दिए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully