मधेश प्रदेश सरकारले सोमबार प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै बजेटको सिलिङ अघिल्लो वर्षभन्दा कम हुने जनाएको छ।
जनकपुर — मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सोमबार सार्वजनिक गर्दैछ। अर्थमन्त्री युवराज भट्टराईले सोमबार बस्ने प्रदेशसभा बैठकमा मधेश प्रदेश सरकारको बजेट प्रस्तुत गर्नेछन्।
प्रदेशको अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको सिलिङ कम हुनेछ। अर्थमन्त्री भट्टराईले आइतबार प्रदेशसभा बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै मधेश प्रदेशको कुल गार्हस्थ उत्पादन ८ खर्ब ८३ अर्ब पुग्ने अनुमान गरेका छन्। उनले यसले देशको समग्र अर्थतन्त्रमा १३.१ प्रतिशत योगदान गर्ने बताए। यस्तै, बाह्य तथा आन्तरिक कारणले मधेश प्रदेशको समग्र आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित भएको उनले जानकारी दिए।
‘मधेश प्रदेशको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा बढी ३४.९७ प्रतिशत रहेको छ,’ अर्थमन्त्री भट्टराईले भने, ‘जसले मधेश प्रदेश कृषि क्षेत्रमा निर्भर रहेको देखिन्छ। कृषि क्षेत्रको वृद्धिदर चालु आर्थिक वर्षमा १.४४ प्रतिशत रहने अनुमान छ।’ चालु वर्षमा मधेश प्रदेशमा अन्नबाली उत्पादनमा ह्रास आएको जानकारी दिँदै अर्थमन्त्री भट्टराईले तरकारी उत्पादन ५.२३ प्रतिशतले बढेर ९.६७ लाख मेट्रिक टन पुगेको बताए।
यस्तै, मधेश प्रदेशमा फलफूल तथा पशुजन्य उत्पादनमध्ये दूध ११.०६ प्रतिशत, मासु ३३.९८ प्रतिशत, माछा ८.०३ प्रतिशत र अण्डा २३.४६ प्रतिशतले उत्साहजनक वृद्धि भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। गैरकृषि क्षेत्रतर्फ स्थिर पुँजीका आधारमा खानी तथा उत्खननमा ०.३६ प्रतिशत र निर्माण क्षेत्रमा १.३९ प्रतिशतको झिनो वृद्धिदर रहने अनुमान गरिएको छ।
‘आर्थिक वर्ष २०८२/८३ का लागि मधेश प्रदेश सरकारको बजेट आकार विगत आठ वर्षकै ठूलो ४६ अर्ब ५८ करोड पुगेको छ,’ अर्थमन्त्री भट्टराईले प्रदेशसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै भने, ‘अघिल्लो वर्षको तुलनामा पुँजीगत बजेटमा गरिएको उल्लेखनीय वृद्धिले पूर्वाधार विकासप्रतिको हाम्रो प्रतिबद्धता झल्काउँछ।’ उनले प्रदेशगत कुल गार्हस्थ उत्पादनमा खर्चको अनुपात ३.६२ प्रतिशत रहँदा आन्तरिक राजस्वको अनुपात भने १.६३ प्रतिशत मात्र रहेको बताए। खर्चको तुलनामा राजस्व संकलन विगत सात वर्षकै न्यूनतम बिन्दुमा पुगेकाले आन्तरिक स्रोत परिचालन र वित्तीय अनुशासनमा आक्रामक सुधारको आवश्यकता देखिएको उनको भनाइ छ।
