किन अशान्त बन्यो रास्वपाको मधेश अधिवेशन?

रास्वपाका मधेश प्रदेशका जिल्लास्थित पदाधिकारीहरुले यहाँ अधिवेशन अशान्त र विवादित हुनुको तीन कारण औंल्याए ।

जेष्ठ २८, २०८३

अजित तिवारी

Why did the Madhesh convention of the Rashtriya Swayamsevak Sangh become turbulent?

What you should know

जनकपुर — नगर अधिवेशन नै प्रभावित हुनेगरी नेता–कार्यकर्ता भिड्न थालेपछि मधेश प्रदेशमा सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को अधिवेशन अनिश्चित बनेको छ । नेतृत्वमा पुग्ने आंकाक्षी बढेपछि ‘नयाँ र पुराना’ कार्यकर्ता भन्दै कित्ताकाट हुँदा मधेश प्रदेशमा रास्वपाको अधिवेशन अशान्त बनेको पार्टीकै नेताहरू बताउँछन् । 

रास्वपा पार्टीको धनुषा जिल्लास्थित पार्टी कार्यलयमा २२ जेठमा तालाबन्दी गरिएका कारण रोकिएको धनुषा जिल्लाको अधिवेशन मंगलबार जनकपुरस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना गरियो । जिल्ला अधिवेशनकै दिन रास्वपा धनुषाका सभापति लक्ष्मेश्वर यादवलाई पार्टीको केन्द्रीय अनुशासन आयोगले निलम्बन गरिदियो । 

आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले जारी गरेको पत्रमा ‘पार्टीको विधान, आचारसंहिता, निर्वाचन कार्यविधि, पदीय जिम्मेवारीमा रही कार्यसम्पादन गर्न नसकेको’ भन्दै धनुषा कार्यसमितिको सभापतिबाट पदमुक्त गरिएको उल्लेख छ । यादवमाथि थप अनुसन्धान गर्न प्रमाण संकलन गर्नुपर्नेमा पनि रिमालको पत्रमा भनिएको छ । 

रास्वपाको धनुषा कार्यसमितिका सभापतिमा आकांक्षी रहेका यादवलाई अधिवेशनकै दिन पदबाट निलम्बन गरेपछि विवाद चर्किएको थियो । रास्वपामा धनुषाका सभापतिका लागि यादवसहित अम्बुप्रसाद साह र सरोजकुमार पूर्वेले दाबी गरेका थिए । रास्वपा धनुषाको अधिवेशन सुरु भएलगत्तै ठूलो संख्यामा नेता–कार्यकर्ता मञ्चमा उक्लिएपछि बिथोलिएको थियो । 

मधेश प्रदेशमा पर्सावाहेक ७ जिल्लामा रास्वपाको जिल्ला नेतृत्व छान्न सकस परेपछि प्रदेश अधिवेशन पनि रोकिएको छ । कुटाकुट र तनावविच नै रास्वपा पर्सामा हरि पन्त बिजयी भए । मधेश प्रदेशमा रास्वपाको नगर अधिवेशनदेखि नै झाँगिएको झमेलाले जिल्ला र प्रदेशको अधिवेशन अनिश्चित बनायो । रास्वपाका मधेश प्रदेशका जिल्लास्थित  चार पदाधिकारीहरुका अनुसार यहाँ अधिवेशन अशान्त र बिवादित हुनुको तीन कारण औल्याए । 

पहिलो,  नयाँ–पुराना नेता–कार्यकर्ताविच देखिएको टसल । दोस्रो, पार्टी शक्तिशाली बनेको बेला पदमा दोहरिने आकांक्षा र तेस्रो : प्रदेश सभापति तपेश्वर यादवको ठाडो हस्तक्षेप । रास्वपा धनुषाका सभापतिका प्रत्याशी अम्बुप्रसाद साहले चुनावअघि कमजोर नै रहेको रास्वपाको मधेश प्रदेशमा संगठन एकाएक बलियो र थुप्रै नेता–कार्यकर्ता आउँदा व्यवस्थापन गर्न समस्या देखिएको बताए । ‘पार्टीमा स्टेप नै बन्न सकेन, सबै एकपटक माथिल्ला पद ताक्दा अव्यवस्थाजस्तो देखिएको हो,’ साहले भने, ‘पार्टीमा नयाँ र पुरानाको समस्या पनि देखिएको छ ।’

रास्वपा सर्लाहीका सभापति सरोज बनियाँले प्रदेश कमिटिको नियतवश आचरणका कारण सर्लाहीको अधिवेशन विवादित बनेको आरोप लगाए । ‘प्रदेश सभापतिले आफूअनुकुलको उम्मेदवारलाई च्यापेपछि सर्लाहीमा बिवाद बढेको थियो,’ उनले भने,‘सहमतिमा जाउ भन्दा पनि जानाजान बिवाद खोजियो ।’

मधेश प्रदेशका ८ वटै जिल्लाका रास्वपा सभापति दोहरिने इच्छा राखेका छन् । पर्सामा त जिल्ला सभापति पन्त नै दोहरिएका छन् । सर्लाहीमा पनि बाँनिया र कृष्णनन्दन यादव प्रत्याशी थिए । महोत्तरीमा हालकै सभापति शुभमकुमार यादव नै प्रत्याशी छन् । धनुषामा यसअघिका सभापति लक्ष्मेश्वर यादव पनि आकांक्षी थिए । 

रास्वपाका प्रदेश सभापति तपेश्वर यादवले एउटा जातिय समूह र आफूअनुकुलको व्यक्तिलाई काखी च्यापेका कारण अधिवेशन प्रभावित बनेको भन्दै मधेश प्रदेशका अधिकांश जिल्ला अध्यक्षले रास्वपा केन्द्रीय समितिलाई पत्र नै लेखेका छन् । मधेश प्रदेशमा फेरि सभापति बन्न तपेश्वर यादवले ८ वटै जिल्लामा भाँडभैलो गरेको ती सभापतिहरुको आरोप छ । कान्तिपुरले रास्वपाका मधेश प्रदेश सभापति यादवलाई कयौं पटक सम्पर्क गर्दा पनि उनले मोबाइल उठाएनन् । 

मधेश प्रदेशको सभापतिका लागि रास्वपामा तपेश्वर यादव र शिव यादवबीच प्रतिस्पर्धा देखिएको थियो । यी दुवैजना सिरहाका हुन् । यादवद्वयको प्रदेश सभापति बन्ने आकांक्षाका कारण उनीहरुको गृह जिल्ला सिरहाकै अधिवेशन तनावपूर्ण बनेको थियो ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully