हरियाणाको पोल्ट्री फार्ममा बन्धक बनाइएका १६ नेपालीको उद्धार

उनीहरुलाई मंगलबार जनकपुर ल्याएर बुधबारदेखि आफन्तको जिम्मा लगाउने काम भइरहेको छ ।

जेष्ठ २७, २०८३

शंकर आचार्य

16 Nepalis held hostage in Haryana poultry farm rescued

What you should know

पर्सा — भारतको हरियाणा राज्यस्थित एक पोल्ट्री फार्ममा बन्धक बनाएर काम लगाइएका १६ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काइएको छ । उनीहरुलाई मंगलबार जनकपुर ल्याइएको हो । बुधबार आफन्तको जिम्मा लगाउने काम भइरहेको छ ।

उद्धार गरिएकामध्ये ७ जना १८ वर्षमुनिका बालबालिका रहेको जनाइएको छ । किन इण्डिया फाउन्डेसन नयाँ दिल्लीका निर्देशक विनोदकुमार खातीका अनुसार, उनीहरूलाई रोजगारीको प्रलोभन देखाएर भारत पुर्‍याइएपछि महिनौंसम्म जबर्जस्ती श्रममा लगाइएको थियो । त्यस क्रममा शारीरिक तथा मानसिक यातना दिइएको र उचित पारिश्रमिकसमेत नदिइएको पनि खुलेको छ ।

खातीका अनुसार बर्दिबास इलाका प्रहरी कार्यालय, महोत्तरीबाट प्राप्त सूचनाको आधारमा नेपाली दूतावास, नयाँ दिल्ली, हरियाणा प्रहरीको क्राइम ब्रान्च अन्तर्गतको मानव तस्करीविरुद्धको इकाई तथा भारत सरकारका सम्बन्धित निकायको समन्वयमा उद्धार अभियान सञ्चालन गरिएको थियो । उक्त अभियानमार्फत हरियाणाको झज्जर जिल्ला अन्तर्गत मातनहेलस्थित एक पोल्ट्री फार्मबाट १६ नेपाली नागरिकलाई सुरक्षित रूपमा उद्धार गरिएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा पीडितहरूलाई नेपालका विभिन्न जिल्लाबाट राम्रो आम्दानी हुने रोजगारीको आश्वासन दिँदै भारत लगिएको खुलेको छ । आर्थिक रूपमा कमजोर र बेरोजगारीको समस्याबाट गुज्रिरहेका परिवारका सदस्यलाई लक्षित गरी दलाल तथा श्रमिक आपूर्तिकर्ताले उनीहरूलाई आकर्षित गरेका थिए । भारत पुगेपछि भने उनीहरूलाई पूर्वसहमति अनुसारको काम र तलब नदिइ पोल्ट्री फार्ममा कठिन श्रम गर्न बाध्य पारिएको थियो ।

पीडितहरूको भनाइ उद्धृत गर्दै खातीले जनाएअनुसार उनीहरूलाई स्वतन्त्र रूपमा बाहिर निस्कन अनुमति थिएन । काम गर्न अस्वीकार गर्दा गालीगलौज, धम्की तथा मानसिक दबाब दिइने र कतिपय अवस्थामा शारीरिक दुर्व्यवहारसमेत भएको उनीहरूको गुनासो रहेको छ । उनीहरूलाई नियमित तलब नदिइएको मात्र होइन, खानपान र बसोबासको अवस्था पनि अत्यन्त दयनीय रहेको थियो ।

बालबालिकालाई समेत श्रममा लगाइएको र उनीहरूको शिक्षा तथा बालअधिकारसम्बन्धी आधारभूत अधिकारबाट वञ्चित गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । मानव बेचबिखन तथा बाल श्रमसम्बन्धी कानुनको गम्भीर उल्लंघन भएको आशंकामा भारतीय सुरक्षा निकायले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

उद्धार अभियानपछि सम्बन्धित पोल्ट्री फार्म सञ्चालक तथा श्रमिक आपूर्तिमा संलग्न ठेकेदारलाई पक्राउ गरिएको छ । उनीहरूमाथि मानव तस्करी, जबर्जस्ती श्रम तथा श्रम शोषणसम्बन्धी कानुनी प्रावधान अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ । साथै पीडितहरूले काम गरेबापत पाउनुपर्ने बक्यौता पारिश्रमिकमध्ये करिब २ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

उद्धार गरिएका सबै नेपाली नागरिकलाई सुरुमा आवश्यक सुरक्षा, स्वास्थ्य परीक्षण, मनोसामाजिक परामर्श तथा कानुनी प्रक्रियाका लागि नयाँ दिल्लीस्थित नेपाली दूतावासको संरक्षणमा राखिएको थियो । दूतावास, भारतीय निकाय तथा किन इन्डिया फाउन्डेसनबीचको समन्वयमा आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि उनीहरूलाई नेपाल फर्काइएको हो ।

किन इन्डिया फाउन्डेसनका उद्धार अधिकृत मानबहादुरको नेतृत्वमा उनीहरूलाई नेपाल ल्याइएको छ । स्वदेश फर्किएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी तथा सम्बन्धित सरोकारवाला निकायको रोहवरमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमार्फत परिवारजनको जिम्मा लगाउने तयारी गरिएको छ ।

खातीले उक्त घटनाले रोजगारीको नाममा हुने श्रम शोषण र मानव बेचबिखनको समस्या अझै गम्भीर रहेको देखाएको बताए । उनका अनुसार नेपालबाट भारत जाने खुला सीमाको दुरुपयोग गर्दै विभिन्न दलाल समूहले गरिब तथा बेरोजगार नागरिकलाई झुटा आश्वासनमा फसाएर जोखिमपूर्ण अवस्थामा पुर्‍याउने क्रम अझै रोकिएको छैन ।

खातीले पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारी, राम्रो तलब, सहज काम वा भविष्य सुरक्षित बनाइदिने जस्ता प्रलोभन देखाएर नेपाली नागरिकलाई भारतका विभिन्न राज्यमा लगेर श्रम शोषण गर्ने घटनाहरू बढिरहेको जानकारी दिएका छन् । खुला सीमा, कमजोर आर्थिक अवस्था, बेरोजगारी र सचेतनाको कमीका कारण यस्ता अपराध मौलाउने गरेको उनले बताए ।

यो घटनाले रोजगारीको खोजीमा भारत जाने नेपाली नागरिक अझै पनि मानव बेचबिखन र श्रम शोषणको जोखिममा रहेको तथ्य पुनः उजागर गरेको छ । यस्ता घटनाको नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी बढाउनुका साथै सुरक्षित आप्रवासनबारे जनचेतना विस्तार गर्नुपर्ने आवश्यकता रहेको खाती बताउँछन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully