मधेशका विभिन्न जिल्ला घर भई काठमाडौंमा बस्ने वकिल र विद्यार्थीहरूले मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
सिरहा — परीक्षाका क्रममा सिरहामा खोसिएका मोबाइल नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । मधेशका विभिन्न जिल्ला घर भई काठमाडौंमा बस्ने वकिल र विद्यार्थीहरूले मंगलबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
अधिवक्ता अनिलकुमार साह, सिरहा नगरपालिका-८ का आभाष दास, सिरहा-२ का महेश महासेठ, रमणकुमार यादव, सर्लाहीको मलंगवा नगरपालिका-११ का विकास यादव र रूपन्देहीको रोहिणी गाउँपालिका-५ का अनिष यादवले दिएको रिटमा गृह मन्त्रालयसहित चार सरकारी निकायलाई विपक्षी बनाइएको छ ।
अधिवक्ता साहका अनुसार रिटमा गृहसँगै मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालय, सिरहाका प्रमुख जिल्ला अधिकारीलाई विपक्षी बनाइएको छ । रिटमा यो कार्य गैरकानुनी भएको, गोपनीयता र सम्पत्तिको हकसम्बन्धी व्यवस्थाको उल्लंघन भएको उल्लेख छ ।
उनीहरूले यसमा संलग्न सरकारी अधिकारीलाई कानुनी कारबाही गर्न र पीडित विद्यार्थीलाई उचित क्षतिपूर्ति दिन माग गर्दै परमादेश, उत्प्रेषणलगायतका उपयुक्त आदेश दिन माग छन् ।
सिरहामा एसईई र कक्षा १२ को परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट १ करोड बराबरको ७ थान आइफोन, ४ सय ८९ थान एन्ड्रोइड फोन र ५ थान स्मार्टवाच जफत गरिएको थियो ।
ती उपकरणलाई प्रमुख जिल्ला अधिकारी नेतृत्वको परीक्षा समन्वय समितिले जिल्ला प्रहरी कार्यालय सिराहाको प्राङ्गणमा पानी भरिएको ड्रममा डुबाएर नष्ट गरेको थियो ।
