हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा पुल निर्माण भइरहेको ठाउँमा स्थानीयले पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र ठेकेदारलाई घेरेका हुन् ।
What you should know
सिरहा — पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कमला नदीमा स्थानीयको घेराउमा परेका छन् । हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा पुल निर्माण भइरहेको ठाउँमा स्थानीयले उनलाई घेरेका हुन् ।
शनिबार उनी यो पुल निर्माणका विषयमा जानकारी लिन तथा निरीक्षण गर्न यहाँ आएका थिए । तर, स्थानीयलाई कुनै सम्बोधन नै नगरी र सञ्चारकर्मीलाई पनि कुनै प्रतिक्रिया नदिई हिँडेपछि स्थानीयले उनलाई घेरेका थिए ।
मन्त्री लम्साल सवार रहेको गाडी स्थानीयले घेरेपछि बल्ल उनी ओर्लिएर स्थानीयको कुरा सुनेका थिए । स्थानीयले मन्त्री लम्साललाई कहिलेसम्म पुल बन्ने भन्ने कुराको ठोस जानकारी गराउन भनेका थिए ।त्यसपछि मन्त्री लम्सालले ठेकेदारसँग यसबारेमा सोधेका थिए । ठेकेदारले १५ दिनभित्र आवतजावत गर्न मिल्ने गरी पुल सञ्चालन गर्ने जवाफ दिएका थिए । त्यसपछि स्थानीयले उनीहरूलाई यहाँबाट जान दिएका थिए ।
'मन्त्री लम्साललाई घेर्नुअघि स्थानीयले लुम्बिनी बिल्डर्स जेभीका मालिक विष्णु शर्मालाई पनि घेरेका थिए,' एक स्थानीयले भने । यो पुल शिलान्यास भएको झन्डै १५ वर्ष भइसकेको छ । कमलामा ४ सय ७० मिटर लामो र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्रै निर्माण गरिसक्ने गरी २४ करोड ९१ लाखमा २०६८ मंसिरमा ठेक्का लागेको थियो ।
तर, पुल निर्माणको ठेक्का पाएको पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्स्ट्रक्सनले तोकिएको मितिमा पुल बनाएन । त्यसपछि पटक-पटक म्याद थपिए पनि पुल बन्न सकेन । राज्यको उदासीनता र ठेकेदारको चरम लापरवाहीले पुल निर्माण अनिश्चित बन्यो ।
हुलाकी सडक संघर्ष समितिले रिले अनशन थालेपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्सनबाट सो ठेक्का खोसेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई २०७८ असार १३ गतेभित्र काम सक्ने गरी जिम्मा लगायो । निर्माण सकेर उद्घाटनको तयारी भइरहेकै बेला २०७८ असार १७ गते सामान्य बाढी थेग्न नसकेर पुल भासियो ।
त्यसयता अहिले लुम्बिनी बिल्डर्सले पुल पुनर्निर्माण त गरिरहेको छ । तर, पाँच वर्ष हुनै लाग्दासमेत पुनर्निर्माणको काम सम्पन्न गर्न सकेको छैन । यो पुलको डिजाइनमै त्रुटि रहेको विषयसमेत उठ्दै आएको छ, जसमाथि अख्तियारले अनुसन्धान पनि गरिरहेको छ ।
स्थानीय अगुवाहरूले पनि पुलको पुनर्निर्माण नभई नयाँ डिजाइनसहितको नयाँ पुल नै बनाउनुपर्ने माग गर्दै आएका छन् । तर, सरकारले यसलाई ठोस ढंगले सम्बोधन नगर्दा स्थानीयले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
