महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा महानगरका कर्मचारीले महिनौंदेखि तलब खान पाएका थिएनन् ।
पर्सा — वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा बसन्तबहादुर बोहराले बिहीबार कार्यभार सम्हालेका छन् । जेठ ११ को मन्त्रिपरिषद् बैठकले २९ जना सहसचिवको सरुवा गर्ने क्रममा वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बोहरालाई पठाउने निर्णय गरेको थियो ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख पहिलो साता आर्थिक र प्रशासनिक अधिकारमा रोक लगाएको थियो । कर्ण अहिले साबिकको १०औं तहमा रहेर काम गरी रहेका छन् । उनी यसअघि महानगरको शिक्षा महाशाखा प्रमुख थिए ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव बोहरालाई सरकारले सरुवा गरेर पठाएको १० दिनपछि बिहीबार कार्यभार सम्हालेका हुन् ।
यसअघि गत फागुन १२ गते तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रेशमलाल कँडेललाई पठाएको थियो । तर, वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले महानगरको सहमति बेगर गरिएको उक्त निर्णयप्रति असहमति जनाउँदै निर्णयमा पूनर्विचार गर्न आग्रह गर्दै मन्त्रालयमा पत्राचार गरेका थिए । बैशाख २८ गते रवाना लिएर वीरगन्ज महानगरमा हाजिर हुन कँडेल आएपछि जेठ ५ गते महानगरमा बसेको जनप्रतिनिधिहरूको बैठकले उनलाई हाजिर हुन नदिने भन्दै सरकारले जबर्जस्ती गरे महानगरमा ताल्चा लगाएर साँचो मन्त्रालयमा बुझाउने निर्णय गरेको थियो ।
महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा महानगरका कर्मचारीले महिनौंदेखि तलब खान पाएका थिएनन् । माघ महिनादेखिको तलब खान नपाएका कर्मचारीलाई तलब खुवाउने वातावरण निर्माण भएपछि कर्मचारीहरू खुसी भएका छन् ।
