कमला पुल निर्माणको माग गर्दै प्रदेशसभा घेराउ

निर्माण नसकिदै भत्किएको कमला नदीको पुल निर्माणमा प्रदेश सरकारले चासो नदेखाएकोबारे संघर्ष समितिले भन्यो, ‘लाज लाग्दैन ?’

जेष्ठ १८, २०८३

अजित तिवारी

Province Assembly surrounded, demanding construction of Kamala Bridge

जनकपुर — हुलाकी राजमार्गअन्तर्गत कमला खोलामा निर्माण नसकिदै भत्किएको पुल निर्माणमा प्रदेश सरकारले चासो नदेखाएको भन्दै सोमबार जनकपुरस्थित मधेश प्रदेशसभा घेराउ गरिएको छ । 

नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा र धनुषाले सोमबार प्रदेशसभाको मुख्य गेटमा प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् । सोमबार प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको बेला संघर्ष समितिले घेराउ गरेको हो । ‘लाज लाग्दैन । नयाँ कमला पुल कहिले सुरु हुन्छ ?’ लेखिएको तुल बोकेर प्रदेशसभा घेराउ गरेको संघर्ष समितिले मधेश प्रदेश सरकारसँग सोधेको छ,‘कहिलेसम्म संघको मुख हेरेर बस्ने, प्रदेश सरकार हो कि संघ सरकारको शाखा हो ।’

नयाँ कमला पुल संघर्ष समितिका प्रविण यादवले संघीय सरकारको उपेक्षामा परेको कमला पुल प्रदेश सरकारको प्राथमिकतामा नपर्दा खबरदारी गरेको बताए । 

सोमबार नै मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई बुझाइएको ज्ञापनपत्रमा ०८१ भदौ ७ गते मधेश प्रदेश सरकार र संघर्ष समितिबीच भएको सम्झौता पुरा गर्न ध्यानाकर्षण गराइएको छ । ‘सम्झौतामा कमला पुल संघीय सरकारले निर्माण नगरेमा मधेश प्रदेश सरकारले स्वयं निर्माण गर्ने प्रतिब्द्धता’ जनाइएको थियो । 

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully