दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको ९ वर्ष बितिसक्दा पनि पुल नबन्दा चन्द्रपुर–३ गैंडाटार र आसपासका नागरिकले जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता छ । बिरामी पर्दा अस्पताल पुर्याउन नपाइने, स्थानीय उत्पादनले बजार नपाउने जस्ता गम्भीर समस्याबाट स्थानीय पीडित छन् ।
What you should know
रौतहट — जिल्लाको चन्द्रपुर नगरपालिका–३ स्थित चाँदी नदीमा निर्माणाधीन पुल ठेकेदारको लापरबाही र सरकारी उदासिनताको उदाहरण बनेको छ । २ वर्षमा सक्ने निर्माण सम्झौता भएको नौ वर्ष बित्दा पनि पुल अधुरै छ । जसले गर्दा चुरेस्थित गैंडाटार क्षेत्रका बासिन्दाको पुल तरेर सदरमुकाम र मुख्य बजार पुग्ने धोको पूरा हुन सकेको छैन ।
चुरेलाई समथर भूभागसित जोड्ने यो पुल जिल्लाको ‘लाइफलाइन’ हो । बाढी आउँदा गैंडाटार क्षेत्रको बाँकी भूभागसित सम्पर्कविच्छेद हुन्छ । तोकिएको समयमै पुल निर्माण पूरा हुने विश्वास गरेका स्थानीय आक्रोशित छन् । विरोधमा २०८० जेठ १४ गते गैंडाटारका बासिन्दा अलपत्र पुलमुनि ‘रिले अनशन’ बसेका थिए । अलपत्र पुल निर्माणका लागि दबाब सिर्जन गर्न संघर्ष समिति गठन गरेर अनशन बसेका स्थानीयले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका तत्कालीन प्रमुख दरोगाप्रसाद साह, ठेकेदार दयाराम साह र सम्बन्धित इन्जिनियरको सरुवा र ठेक्का रद्द गर्न माग गरेका थिए ।
अनशन बस्नुअघि उनीहरूले तीनपटक सडक डिभिजन कार्यालयलाई ज्ञापन–पत्र बुझाएका थिए । स्थानीयको दबाबका बावजुद निर्माण कम्पनीले अहिले कछुवाको गतिमा काम गरिरहेको छ । रास्वपा सांसद गणेश पौडेलले पुल निर्माण भइरहेको ठाउँमा पुगेर ठेकेदार र डिभिजन प्रमुखलाई छिटो काम सक्न अनुरोध गरे । ‘यो पुल भौतिक संरचना मात्र होइन, गैंडाटारबासीको जीवनरेखा र राज्यप्रतिको भरोसा पनि हो,’ उनले भने, ‘एउटा विकास आयोजना वर्षौंसम्म अलपत्र पर्दा पनि स्थानीय प्रशासन, जनप्रतिनिधि र सडक डिभिजन कार्यालय गम्भीर नहुनु दुःखद पक्ष हो ।’
निर्माण कम्पनीले देखाउनका लागि कछुवाको गतिमा काम गरिरहेको पुल निर्माणका लागि दबाब दिन गठन गरिएको संघर्ष समितिका अध्यक्ष गोविन्द तिमल्सिनाले बताए । ‘हामीले पटक–पटक ज्ञापन–पत्र बुझायौं । केही सीप नलागेपछि अनशन बस्न बाध्य भयौं,’ उनले भने, ‘अनशन र ज्ञापन–पत्र दिए पनि पुल निर्माण पूरा भएन । अझै कति दिन लाग्ने हो, थाहा छैन् ।’ नागरिक स्तरबाट भएको ठूलो दबाबलाई सडक डिभिजन कार्यालयले गम्भीरतापूर्वक नलिएको उनले बताए ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गत पुस २३ गते ठेकेदार दयाराम साहलाई निर्माण स्थलमा बोलाएर स्पष्टीकरण सोधेका थिए । ठेकेदारलाई चाँडै काम सक्न उनले निर्देशन दिएका थिए । ठेकेदार साहले असार मसान्तभित्र काम पूरा गर्ने विश्वास दिलाएका थिए । पुल निर्माणका लागि पप्पु शिवशंकर जेभीले ठेक्का सम्झौता गरेको थियो । ठेक्का नम्बर ५३ अन्तर्गत कुल २५ करोड ३६ लाख २४ हजार रुपैयाँ लागतमा ११ स्पानका पुलको निर्माण थालिएको थियो । निर्माण कम्पनीले २०७४ असार ३१ गते लिखित सम्झौता गर्दै २०७६ असार ३१ गतेभित्र पुल निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको थियो ।
सडक डिभिजनले पाँचौंपटक चालु आर्थिक वर्षको असार मसान्तसम्म म्याद थप गरेको थियो । पछिल्लो पटक थपिएको म्याद सकिन लाग्दासमेत कार्य प्रगति सन्तोषजनक छैन । सडक डिभिजन प्रमुख अरुणकुमार लालकर्णले पुल निर्माणको काम कछुवाको गतिमा भइरहेको जानकारी दिए । ‘असार मसान्तसम्म सकिएलाजस्तो छैन,’ उनले भने, ‘ठेकेदारले ढिलासुस्ती गरिरहेको छ, हामीले म्यादभित्र काम सक्नुपर्छ भनेका छौं ।’ अहिले सम्म ८० प्रतिशत प्रगति भएको कार्यालयले जनाएको छ । असार मसान्तमा काम नसकिए म्याद थप्ने तयारी कार्यालयले गरेको छ ।
पुल नबन्दा चन्द्रपुर–३ गैंडाटार र आसपासका नागरिकले जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता छ । बिरामी पर्दा अस्पताल पुर्याउन नपाइने, स्थानीय उत्पादनले बजार नपाउने जस्ता गम्भीर समस्याबाट स्थानीय पीडित छन् । सम्झौता अनुसार निर्माण कार्य नसकिएपछि पहिलोपटक साधारण खरिद नियमावली (नवौं संशोधन) अनुसार डेढ वर्षका लागि म्याद थपिएको थियो । थपिएको म्याद अनुसार २०७७ पुस १४ मा निर्माण कार्य सक्नुपर्नेमा ठेकेदारले कोरोना, लकडाउन लगायतका विभिन्न बहाना गर्दै काम सकेन । कोभिड–१९ को कारण देखाइ दोस्रोपटक २०७७ माघ ११ को निर्णय अनुसार २०७८ असार १३ गतेसम्म काम सम्पन्न गर्ने गरी ६ महिना म्याद थप गरेको थियो । ठेकेदारले त्यस अवधिमा पनि कामै गरेन । सडकले पुन तेस्रो पटकका लागि २०७९ असार मसान्तसम्मको म्याद थपे पनि काम पूरा भएन ।
ठेकेदार साहले आर्थिक अभाव, बर्खा, निर्माण सामग्रीको अभाव तथा विभिन्न कारणले सम्झौता अनुसार निर्माणको काम सम्पन्न हुन नसकेको बताउँदै आएका छन् । आर्थिक अभाव लगायतका धेरै समस्याले काम ढिला हुन गएको ठेकेदार साहले सुनाए । ‘असार मसान्तभित्र काम सक्ने हो,’ उनले भने, ‘हेरौं अब के हुन्छ ! सकेसम्म समयमै सक्छु ।’ चाँदी नदीको पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले सुरुदेखि विभिन्न प्राविधिक तथा व्यावहारिक बहाना बनाउँदै आएको छ । कहिले निर्माण सामग्रीको अभाव, कहिले नदीको बहाव त कहिले बजेटको निकासा नभएको जस्ता तयारी जवाफ दिएर काम पन्छाउने गरिएको छ । ठेकेदारले २ वटा स्पान र रेलिङको काम मात्र बाँकी राखेको सडक विभागले जनायो ।
अन्य पाँच पुलको अवस्था पनि उस्तै
यसअघि सडक डिभिजन चन्द्रनिगाहपुरले जिल्लाभित्र ठेक्का लगाएका १३ वटा सडक र पुलको सम्झौताअनुसार काम नगरेको भन्दै ठेक्का रद्द गरेको थियो । पप्पु कन्स्ट्रक्सन र रौतहटको शिवशंकर जेभीले यस जिल्लामा पाँचवटा पुलको ठेक्का लिएका छन् । ती सबै निर्माणका नाममा अलपत्र छन् ।
सडक डिभिजन रौतहटका अनुसार मुलुकको सर्वाधिक निर्माणको ठेक्का पाएको वीरगन्जको पप्पु कन्स्ट्रक्सन र रौतहटको शिवशंकर जेभीले २०७८ असार ३० गते सम्झौता गरेको लमाहा नदीको पुलको काम चार वर्षमा ६० प्रतिशतमात्र सकेको छ । २०७३ जेठ २६ गते सम्झौता गरेर २०७५ असोज १५ गते निर्माणको काम सक्नुपर्ने लौकाहा, प्रतापुर पल्टुवाको पुल निर्माणको ठेक्का पनि ९ वर्षको अवधिमा ६० प्रतिशतमात्र काम गरेको सडक डिभिजनले जनायो ।
तरहरी खाला पुल पिपरिया दोस्तियाको २०७३ असोज ६ गते सम्झौता गरेर २०७५ बैशाख २७ गते सक्नु पर्ने काम अहिलेसम्म ५८ प्रतिशतमात्र सकेको छ । लौकाहा खोलाको पुल पनि २०७३ मै सम्झौता भएको हो । यसको भौतिक प्रगति ५५ प्रतिशत छ । सबै पुल पटक–पटक म्याद थपेर पनि ठेकेदारले सम्पन्न गर्न नसकेको प्रमुख कर्णर्ले गुनासो पोखे । पुलको ठेक्का लिएर ठेकेदार चुप बसेको भन्दै स्थानीयले सडक डिभिजनमा दबाब दिँदै आएका छन् ।
