मधेशमा मन्त्रिपरिषद् विस्तार : एमालेलाई ४, नेकपालाई १ मन्त्रालय

मंगलबार साँझ विस्तार गरिएको मन्त्रिपरिषद्‌मा नेकपा एमालेलाई ४ वटा मन्त्रालय र नेकपालाई अर्थ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

जेष्ठ १२, २०८३

अजित तिवारी

Cabinet expansion in Madhesh: UML gets 4 ministries, NCP gets 1

जनकपुर — सत्ता गठबन्धन गरेका ३ दलबीच सहमति जुटेपछि मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ ।

मंगलबार साँझ विस्तार गरिएको मन्त्रिपरिषद्‌मा नेकपा एमालेलाई ४ वटा मन्त्रालय र नेकपालाई अर्थ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार एमालेलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, खेलकुद तथा समाज कल्याण मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय दिइएको छ । एमालेले शारदा थापालाई श्रम तथा यातायात, मनोज सिंहलाई शिक्षा तथा संस्कृति, लखनदास तत्मालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र मोहम्मद समिरलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यस्तै, नेकपाबाट संसदीय दलका नेता युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।नेकपाले यसअघि नै ३ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छ ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले कांग्रेसको जिम्मामा रहेको स्वास्थ्य मन्त्रालयका मन्त्री जंगीलाल राईलाई हटाएर त्यो ठाउँमा कांग्रेसकै सांसद नागेन्द्र साहलाई स्वास्थ्यमन्त्री बनाएका छन् ।

आज साँझ नै सबै नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण गराउने तयारी गरिएको छ ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully