सामाजिक अभियन्ता प्रकाश थारुको पहल तथा सशस्त्र प्रहरी नं १३ गण हेडक्वार्टर पर्साको अग्रसरतामा करिब डेढ धुर जग्गामा छिमीदेवीको पक्की घर निर्माण भएको हो । एककोठे घरमा जस्ताको छानो छ । परिवारका सबै सदस्य मज्जाले सुत्न सक्छन् ।
What you should know
पर्सा — वीरगन्ज–२२ मनियारीकी ४० वर्षीया छिमीदेवी डोमको आइतबार खुसीको सीमा थिएन । सशस्त्र प्रहरी नं १३ गण हेडक्वार्टर पर्साको अगुवाइमा नवनिर्मित घर पाएपछि पक्की घरमा बस्ने उनको सपना पूरा भएको हो ।
यसअघि च्यातिएको त्रिपालको ओतमा आश्रय लिइरहेको उनको परिवार अहिले पक्की घरमा बस्न पाएको छ । पाँच वर्षअघि पति चोकट डोमको मृत्यु र लगत्तै एक छोराको पनि मृत्यु भएपछि बाँकी तीन सन्तानसहितको चार जनाको परिवारको भार उनको काँधमा छ । स्थानीय एक बोर्डिङ स्कुलमा सरसफाइ गरेर मासिक ३ हजार रुपैयाँ तलब उनले पाउँछिन् । त्यही नै उनको मासिक कमाइ हो ।
चार धुर पुर्ख्यौली जग्गा छ । तर त्यो जग्गामा टाउको लुकाउने गतिलो घर थिएन । चारैतिरबाट च्यातिएको त्रिपाल र तन्नाले बारेर बनाएको घरमा उनी र उनका सन्तान सुत्दै आएका थिए ।
‘जाडोमा शीत र वर्षामा पानी चुहिएर त्यही ओत लाग्ने घरमा पनि टाउको लुकाउन सकस हुन्थ्यो,’ छिमीले भनिन्, ‘तर अहिले सबै बालबच्चासहित सुत्न मिल्ने फराकिलो ओछ्यानसहितको पलङ पनि पाएकी छु ।’ घरको दलिनमा पंखा पनि छ । अब गर्मीमा तरतर पसिना चुहाएर रात काट्नु पर्ने बाध्यताको पनि अन्त्य भएको उनले बताइन् ।
सामाजिक अभियन्ता प्रकाश थारुको पहल तथा सशस्त्र प्रहरी नं १३ गण हेडक्वार्टर पर्साको अग्रसरतामा करिब डेढ धुर जग्गामा छिमीदेवीको पक्की घर निर्माण भएको हो । एककोठे घरमा जस्ताको छानो छ । परिवारका सबै सदस्य मज्जाले सुत्न सक्छन् ।
घर निर्माणमा जिल्लास्थित सशस्त्र प्रहरीको विभिन्न युनिटले निर्माण सामग्रीको जोहो गरिदिएका हुन् । सशस्त्र प्रहरीका जवानहरूले श्रमदान गरेका छन् । स्थानीय दाताहरूले निर्माण सामग्री उपलब्ध गराई सक्दो सहयोग गरेका छन् । ‘समाजका सबै वर्गबाट सहयोग संकलन गरी अति विपन्न डोम परिवारका लागि एउटा पक्की घर निर्माण सम्भव भएको हो,’ सशस्त्र प्रहरी पर्साका प्रमुख एसपी मोहनबहादुर क्षेत्री भन्छन्, ‘सशस्त्र प्रहरीको कार्यक्रम सीमाबासीसँग सशस्त्र प्रहरीअन्तर्गत हामीले यस्ता सामाजिक कार्यहरुमा सक्रिय भूमिका खेल्दै आएका छौं ।’ यस्ता कार्यक्रमले सीमामा बस्ने स्थानीय दलित विपन्न समुदायले प्रत्यक्ष लाभ पाउने र सशस्त्र प्रहरी तथा सीमाबासीबीचको दूरी पनि घट्दै जाने एसपी क्षेत्री बताउँछन् । घर निर्माण लागत करिब १ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
सामाजिक अभियन्ता प्रकाश थारु अति विपन्न छिमीदेवीलाई ओत लाग्ने घरको अभावमा लामो समयदेखि पीडा रहँदै आएकामा उनले निःशुल्क घर पाएपछि उनको पीडामा ठूलो मल्हम लागेको बताउँछन् । ‘एक विपन्न विधवालाई आफ्नो र लालाबालाको टाउको लुकाउन गतिलो छानो थिएन,’ उनले भने, ‘छानोको व्यवस्था भएपछि अब उनलाई दुई छाक खान पुग्ने कामको खोजीमा छौं, त्यति भए उनको पीडा धेरै हदसम्म कम हुन्छ ।’
