वडा कार्यालयले सोमबार घर भत्कायो, बिहीबार अस्ताइन् रत्नीदेवी

घर भत्काएपछि ४ दिनदेखि छोरा–बुहारी र नातिनातिनाहरु भत्काइएका संरचनामाथि र सडक किनारमै त्रिपाल टाँगेर रात काट्न बाध्य हुँदा उनी बेचैन थिइन् ।

जेष्ठ ८, २०८३

विद्यानन्द राम

Ward office demolished house on Monday, Ratni Devi passed away on Thursday

What you should know

राजविराज — सार्वजनिक जग्गामा बनाएका घरटहरा भत्काउन सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ वडा कार्यालयले सूचना जारी गर्दादेखि नै तनाबमा थिइन्, रत्नीदेवी मलाहनी (मुखिया)। 

७५ वर्षकी रत्नीदेवीलाई छोरा–बुहारी र नाती–नातीनी घरविहीन भएपछि चर्को घाम र बढ्दो गर्मीमा कहाँ बस्ने भन्ने चिन्ता भइरहेको थियो । गत सोमबार बिहान वडाध्यक्ष रमेशकुमार मुखियालगायतकाले ‘डोजर’ लिएर घर भत्काउन पुग्दा पनि रत्नीदेवीले ओत लाग्ने ठाउँको व्यवस्थापन नभएसम्म घर नभत्काउन आग्रह गरिरहिन् । तर, कसैले मानेनन् ।

गत वैशाख २१ मा गरिएको ७ दिने सूचना टेकेर ४ पुस्तादेखि सकरपुरा टोलमा बसोबास गरिरहेकी रत्नीदेवीका छोराहरु परमेश्वर, विन्देश्वर र लक्ष्मी मुखियाको घर भत्कायो । घर भत्काउँदा ४ दिनदेखि छोरा–बुहारी र नातिनातिनाहरु भत्काइएका संरचनामाथि र सडक किनारमै त्रिपाल टाँगेर रात काट्न बाध्य हुँदा उनी बेचैन थिइन् । ‘घर भत्काएपछि आमा एकदमै चिन्तित हुनुहुन्थ्यो, झन् बालबच्चालाई त्रिपालमूनि गर्मीमा समस्या भइरहेको हेर्दा आमालाई पिरोलिरहेको थियो,’ उनका छोरा विन्देश्वरले भने, ‘खाना खान पनि मान्नुहुदैन्थ्यो । बालबच्चालाई हेरेरै रात बिताउनुहुन्थ्यो ।’

४ दिनदेखि खाना खानसमेत रुचि नलागेको भन्दै आएकी रत्नीदेवीको बिहीबार राति निधन भएको हो । ‘सासुआमालाई धेरै सम्झाए तर उहाँ चिन्ता कम गर्न सकिन,’ उनकी बुहारी सुशीला मुखियाले भनिन्, ‘अन्तिम समयमे सेहो तुसब कत: बैइठबी–सुतबी कहीक चिन्ता करहल छलनि (अन्तिम समयमा पनि तिमीहरु कहाँ बस्छौं–सुत्छौं भनेर चिन्ता गर्दै हुनुहुन्थ्यो)।’ 

उनको निधनपछि गाउँले नै शोकमग्न छन् । अझ बेघर भएको बेला रत्नीदेवीको निधन भएपछि सुकुमवासी परिवारमाथि पीडा थपिएको छ । शुक्रबार बिहान त्यहाँ पुग्दा घर भत्काएको आँगनमा रत्नीदेवीको शव राखेर उनीहरुले आक्रोश पोखिरहेका थिए । ‘हामीले फरक पार्टीलाई भोट दिएका थियौं, त्यसैको प्रतिसोध साध्न वडाध्यक्ष मुखियाले आफुसहित ७ परिवारका घर भत्काइदियो,’ विन्देश्वरले भने, ‘यहाँ अधिकांशका घर सार्वजनिक जग्गामै छन् तर हाम्रोबाहेक कसैको पनि भत्काइएन, त्यही कारणले आमालाई पनि गुमाउनुपर्‍यो ।’

वडा कार्यालयले जारी गरेको सूचनामा पनि सार्वजनिक जग्गा संरक्षण गर्ने जिम्मेवारी स्थानीय सरकारको रहेको भन्दै विन्देश्वर, परमेश्वर, चन्द्रकलादेवी, भोगेन्द्र मुखिया, डोमी मुखिया र ओमप्रकाश मुखियालाई मात्रै जग्गा खाली गर्न भनिएको छ भने वडामा रहेका अन्य सार्वजनिक जग्गा खाली गर्न भनिएको छैन् ।

यस विषयमा वडाध्यक्ष मुखियालाई प्रश्न गर्दा २ वर्षअघि खाली गराउन बाँकी रहेका सार्वजनिक जग्गाका घरटहरा मात्रै हटाइएको बताए । ‘प्रतिशोध हुँदै होइन, अरु ठाउँमा भएका घरटहरा पहिला नै हटाइसकेका छौं,’ उनले भने, ‘अहिले खाली गराइएका ठाउँमा मन्दिरसहितका संरचना बनाउन यसपाली बजेट राखेका छौं ।’ वडाध्यक्ष मुखियाले घर भत्काइएका परिवारलाई व्यवस्थापन गर्नका लागि पहल भइरहेको बताए । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully