राहत सामग्री हस्तान्तरण गर्दै लहान नगर प्रमुख महेशप्रसाद चौधरीले पीडित परिवारलाई बस्न मिल्ने गरी तत्काल अस्थायी विपद् घर बनाइदिने पनि जानकारी दिए ।
सिरहा — लहान नगरपालिका-१५ सिसवोनीका आगलागी पीडित परिवारलाई नगरपालिकाले राहत प्रदान गरेको छ । स्थानीय मदन थापा मगरको परिवारलाई नगरपालिकाले सोमबार राहत सामग्री उपलब्ध गराएको हो ।
उनको घरमा गत चैत ३० गते दिउँसो विद्युत् सर्ट भएर आगलागी भएको थियो । आगलागीबाट घरसहित घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, ३५ हजार रुपैयाँ नगदलगायत जलेर नष्ट भएको थियो ।
यसबारे जानकारी पाएपछि नगर प्रमुख महेशप्रसाद चौधरीले पीडित परिवारलाई तत्कालका लागि चामल, दाल, नुन, भाँडाकुडा, प्रेसर कुकर, त्रिपाललगायत सामग्री हस्तान्तरण गरेका हुन् ।
आगलागीबाट करिब ११ लाख रुपैयाँ बराबरको क्षति भएको मदनले बताए । आगलागीमा घर जलेपछि थापा परिवार छिमेकीकहाँ शरण लिएर बसेको छ ।
राहत सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख चौधरीले पीडित परिवारलाई बस्न मिल्ने गरी तत्काल अस्थायी विपद् घर बनाइदिने पनि जानकारी दिए ।
