वीरगन्ज भन्सारको राजश्व लक्ष्यमा दबाब : लगानीमैत्री वातावरण अभावदेखि तस्करीसम्मका चुनौती

अब आर्थिक वर्षमा बाँकी रहेका २ महिनामा लक्ष्य भेट्टाउन यो भन्सारले करिब ७३ अर्ब रुपैयाँ राजश्व संकलन गर्नु पर्ने हुन्छ ।

जेष्ठ २, २०८३

शंकर आचार्य

Pressure on Birgunj Customs' revenue target: Challenges range from lack of investment-friendly environment to smuggling

What you should know

पर्सा — मुलुककै प्रमुख स्थल नाका वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजश्व संकलन गर्न सकेको छैन । भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा यो भन्सारको वार्षिक राजश्व संकलन लक्ष्य २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा वैशाख महिनासम्ममा जम्मा १ खर्ब ९९ अर्ब ४० करोड रुपैयाँ मात्रै संकलन भएको छ । 

यो वार्षिक लक्ष्यको झन्डै ७३ प्रतिशत हो । अब आर्थिक वर्षमा बाँकी रहेका २ महिनामा लक्ष्य भेट्टाउन यो भन्सारले करिब ७३ अर्ब रुपैयाँ राजश्व संकलन गर्नु पर्ने हुन्छ । जुन असम्भव जस्तै देखिन्छ । 

वैशाख महिनामा मात्रै २३ अर्ब ८४ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य राखिएको थियो । तर यो महिनामा २१ अर्ब ७४ करोड रुपैयाँ मात्र संकलन भएको छ, जुन मासिक लक्ष्यको करिब ९२ प्रतिशत हो ।

दैनिक राजश्व संकलनमा पनि उतारचढाव देखिएको छ । कतिपय दिन १ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन भए पनि अधिकांश दिन लक्ष्यअनुसार संकलन हुन नसकेको देखिन्छ । वैशाख महिनामा सबैभन्दा बढी राजश्व संकलन हुने वस्तुमा डिजेल, एलपी ग्यास, पेट्रोलियम पदार्थ, सवारीसाधन तथा औद्योगिक कच्चा पदार्थ रहेका छन् । डिजेल र एलपी ग्यास आयातबाट मात्रै ठूलो हिस्सा राजश्व संकलन भएको छ ।

कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले लगानीमैत्री वातावरणको अभाव, औद्योगिक कच्चा पदार्थको आयातमा कमी, तस्करी तथा अवैध व्यापार, व्यापार सहजीकरणको कमजोरी र एमआरपीसम्बन्धी समस्याका कारण राजश्व प्रभावित भएको बताएका छन् ।

मैनालीका अनुसार देशभित्र लगानीमैत्री वातावरण नबन्दा उद्योग–व्यवसाय विस्तार हुन सकेको छैन । उनले खुला सीमाको फाइदा उठाउँदै हुने तस्करी तथा अवैध व्यापार पनि राजश्व चुहावटको मुख्य कारण बनेको बताए । व्यापार सहजीकरणको अभाव, सीमामा हुने प्रक्रियागत ढिलाइ, ढुवानी समस्या तथा पूर्वाधार कमजोरीले पनि वैधानिक व्यापार निरुत्साहित भइरहेको उनको भनाइ छ ।

कार्यालयले तस्करी नियन्त्रण, निगरानी कडा बनाउने, डिजिटल प्रणाली विस्तार गर्ने तथा व्यापार सहजीकरण सुधार गर्ने कामलाई तीव्रता दिएर सक्दो प्रयास भने गरी रहेको उनको भनाइ छ । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully