राजकुलो ब्युँताउन सके कृषि र वातावरणीय सन्तुलनमा ठूलो सहयोग पुग्ने
What you should know
रौतहट — चन्द्रपुर नगरपालिकाले वर्षौंदेखि अतिक्रमित ऐतिहासिक ‘राजकुलो’ को खोजी गर्न थालेको छ । अतिक्रमणका कारण सडक र घरमुनि पुरिएको राजकुलोलाई पुरानै अवस्थामा फर्काउन नगरपालिकाले सूचना निकालेको हो । करिब ५० वर्ष पुरानो राजकुलो मासिएपछि जिल्लाको उत्तरी क्षेत्रमा सिँचाइको मुख्य स्रोत प्रभावित भएको छ ।
यहाँका बासिन्दाका अनुसार एक समय यो राजकुलो उर्वर भूमि सिँचाइ गर्ने र रैथानेको प्यास मेटाउने आधार थियो । खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ पुर्याएर खाद्यान्न उत्पादन बढाउने उद्देश्य थियो । अहिले यो कुलो लगभग मासिसकेको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै राजकुलो मिचेर बनाइएका भौतिक संरचना र बाटो हटाएर कुलोको जमिन खाली गर्न अनुरोध गरेको छ । सूचनाले तोकेको अवधिभित्र अतिक्रमण खाली नगरे डोजर चलाएर संरचना भत्काउने र त्यसको खर्चसमेत सम्बन्धित पक्षबाटै असुलउपर गर्ने चेतावनी दिएको छ ।
नगरपालिकाले गत वैशाख २४ गते ३५ दिनभित्र अतिक्रमित संरचना खाली गर्न भनेको हो । नगरप्रमुख संजयकुमार काफ्लेले इतिहास बोकेको राजकुलो मासिएकाले त्यसलाई पुरानै अवस्थामा फर्काउने काम चुनौतीपूर्ण हुने बताए । ‘चाँदी नदीको छेउबाट दक्षिणतर्फ झन्डै ५ किलोमिटर लम्बाइ भएको राजकुलो मास्ने काम भएको छ,’ उनले भने, ‘राजकुलोको अस्तित्व खोज्ने काम सुरु गरिसकेका छौं । अहिले पनि नक्सामा कुलो प्रस्ट देखिन्छ ।’ नक्सा जीवितै भए पनि कुलोमाथि घर र बाटो निर्माण गरिएका छन् ।
यो कुलो चन्द्रनिगाहपुर र आसपासका बासिन्दाका लागि खेतीपाती गर्ने आधार थियो । सहरीकरण सुरु भएसँगै जग्गाको मूल्य आकासिएपछि कुलोमाथि अतिक्रमणकारीले आँखा गाडेको स्थानीयको भनाइ छ । उनीहरूका अनुसार कुलो सिँचाइँका लागि मात्र नभई वर्षायाममा डुबान नियन्त्रणका लागि पनि महत्वपूर्ण थियो । अहिले धेरै ठाउँमा कुलोमाथि पक्की घर ठडिएका छन् । कतै सडक विस्तार गरेर कुलोको निसानी मेटाइएको छ । नगरभित्रको ढल निकास र सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न राजकुलो ब्युँताउनुको विकल्प नभएको नगरप्रमुख काफ्लेले बताए । दशकौँदेखि हराएको सार्वजनिक सम्पत्ति फिर्ता गराउन लागिएको उनले बताए । ‘नक्सामा राजकुलो देखिने तर जमिनमा घर र सडक देखिने अवस्था छ,’ उनले भने, ‘पुरानो लगत र नक्साका आधारमा कुलोको रेखांकन गरेरै छाडिनेछ ।’
कुलो मासेर बसोबास गरेकालाई हटाउन नगरपालिकालाई राजनीतिक र प्रशासनिक रूपमा चुनौती हुने प्रमुख काफ्लेले बताए ।
‘सार्वजनिक सम्पत्ति मिचेर व्यक्तिगत स्वार्थ पूरा गर्ने परिपाटीले इतिहास मेट्ने काम भएको छ,’ नागरिक समाजका अगुवा योगेन्द्र यादवले भने, ‘राजकुलो ब्युँताउन सकियो भने यहाँको कृषि र वातावरणीय सन्तुलनमा ठूलो सहयोग पुग्नेछ ।’ नगरपालिकाले पहिलो चरणमा सूचनामार्फत सचेत गराएको छ । दोस्रो चरणमा अमिनसहितको टोली खटाएर सीमांकन गर्ने तयारी गरेको छ । राजकुलोको खोजीले चन्द्रपुरमा सुशासन र सार्वजनिक सम्पत्तिको संरक्षणमा एउटा मानक स्थापित गर्ने अपेक्षा गरिएको स्थानीयको भनाइ छ ।
एक दशकअघिसम्म यहाँस्थित चाँदी नदीको शिरबाट बग्ने पानी विभिन्न स्थानका कुलो र पैनी हुँदै किसानको खेतसम्म पुग्थ्यो । चन्द्रपुरको टेकान र चिडियादह हुँदै दक्षिण भेगमा निर्माण भएका एक सयभन्दा बढी सार्वजनिक कुलो र पैनी प्लटिङका नाममा मासेर बाटो बनाइएको छ । नापी कार्यालयको नक्सामा उल्लेख भए पनि अहिले मासेर प्लटिङ व्यवसायीले धमाधम बाटो बनाएर जग्गा बिक्री गरिरहेका छन् ।
चन्द्रपुर अस्पताल क्षेत्रमा पुरानो पैनी मासेर प्लटिङवालाले बाटो बनाएको भन्दै चौतर्फी विरोध भएको थियो । व्यवसायी सन्तोषकुमार चौधरीले चन्द्रपुर–६ स्थित झनझनेटोलमा आफ्नै निजी जग्गाको उत्तरीतर्फ रहेको दुई दशकअघिको १४ फिटको पैनी मासेर प्लटिङ गरेका छन् । यस क्षेत्रमा पैनी र कुलोको संख्या २ सयभन्दा बढी रहेको अनुमान छ । अहिले मासिएर सयभन्दा कम रहेका छन् । ठाउँठाउँमा मास्ने काम भएपछि किसानले खेतमा निजी पम्पसेट राखेर पानी पटाउन थालेका छन् । बागमती सिँचाइँको नहर र प्रशाखाबाहेकका कुलो–पैनी मासिएका हुन् ।
चन्द्रपुर–६ का बासिन्दा किसान प्रल्हाद थापाले कुलो–पैनी मासेर ठूलो समस्या ल्याएको बताए । ‘चुरेको पानी पैनी हुँदै सिधै किसानको खेतसम्म पुग्थ्यो,’ उनले भने, ‘अब नाममात्रको पैनी रहने भयो । नक्सामा भए पनि भोगचलनमा मासिएको छ ।’ केही समयअघि पालिकाले विभिन्न स्थानमा पुरिएका कुलो सफा गर्ने अभियान चलाएको थियो । मासिएका र पुरिएका कुलोहरू विगतमा सफा गर्ने काम भएको चन्द्रपुर–६ का वडाध्यक्ष सहदेव केसीले दाबी गरे ।
