मधेशको उर्वर भूमि सिञ्चित गर्ने र रैथाने बस्तीको प्यास मेटाउने राजकुलो पछिल्लो समय लगभग मासिएका छन्।
What you should know
रौतहट — उत्तरी भेगको लाइफलाइन मानिने ऐतिहासिक ‘राजकुलो’को अस्तित्व ब्यूताउन चन्द्रपुर नगरपालिकाले सक्रियता देखाएको छ । दशकौंदेखि अतिक्रमणमा परेर सडक र घरका जगमुनि पुरिएको राजकुलोलाई पुरानै अवस्थामा फर्काउन नगरपालिकाले सूचना निकालेको छ ।
चुरेबाट दक्षिणतिर बगेका दशकौं पुराना राजकुलो मासिए पछि सिँचाइको मुख्य स्रोत नै प्रभावित भएको छ । यसको सबैभन्दा बढी मार किसानलाई परेको छ । कुनै समय उर्वर भूमि सिञ्चित गर्ने र रैथाने बस्तीको प्यास मेटाउने मुख्य आधार थियो, राजकुलो । बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने यस्ता राजकुलो पछिल्लो समय लगभग मासिएका छन् ।
नगरपालिकाले सार्वजनिक सूचना गर्दै राजकुलो मिचेर बनाइएका घरटहरा, बाटो वा अन्य संरचना हटाएर कुलोको जमिन खाली गर्न अनुरोध गरेको छ । सूचनाको अवज्ञा गरे नगरपालिका आफैंले डोजर चलाएर संरचना भत्काउने र त्यसको खर्चसमेत सम्बन्धित पक्षबाटै असुल गर्ने चेतावनी दिएको छ ।
वर्षौंदेखि अतिक्रमणमा परेको राजकुलो ब्युताउन र अतिक्रमण हटाउन नगरपालिकाले वैशाख २४ मा ३५ दिने अल्टिमेटम दिएको हो । नगरप्रमुख सञ्जयकुमार काफ्लेले ईतिहास बोकेका राजकुलोलाई पुरानै अवस्था फर्काउने प्रयास थालिएको बताए । ‘चाँदी नदीको छेउबाट दक्षिण तर्फ झण्डै ५ किलोमिटरसम्म फैलिएको राजकुलो मास्ने काम भएको छ,’ उनले भने, ‘ऐतिहासिक राजकुलोको अस्तित्व खोज्ने काम सुरु गरिसकेका छौं । अहिले पनि नक्सामा कुलो प्रष्ट देखिन्छ ।’ नक्सा जीवितै भए पनि कुलो माथि घर, बाटो निर्माण गरिएको उनले बताए ।
चुरेको शीरबाट आएको पानी बग्ने राजकुलो दशकौंदेखि सिँचाइको मुख्य स्रोत रहँदै आएको थियो । चन्द्रनिगाहपुर र आसपासका किसानका लागि खेतीपाती गर्ने आधार नै यही कुलो थियो । सहरीकरणसँगै जग्गाको मूल्य आकासिदै जाँदा यो सार्वजनिक सम्पत्तिमाथि आँखा गाडिएको स्थानीयको आरोप छ । स्थानीय पाकाहरुका अनुसार राजकुलो सिँचाइका लागि मात्र नभई बर्खाको डुबान नियन्त्रणका लागि पनि उत्तिकै महत्वपूर्ण थियो । अहिले धेरै ठाउँमा कुलोमाथि पक्की घर ठडिएका छन् भने कतै सडक विस्तार गरेर कुलोको निसानी नै मेटाइएको छ ।
नगरप्रमुख काफ्लेका अनुसार नगरभित्रको ढल निकास र सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न राजकुलो ब्युताउन आवश्यक देखिएको हो । दशकौंदेखि अतिक्रमणमा परेको सार्वजनिक सम्पत्ति पुरानो लगत, नक्साका आधारमा फिर्ता ल्याउने अभियान थालेको नगरप्रमुख काफ्लेले बताए । कुलो मासेर घर, बाटो बनाएर बसेकालाई हटाउनु नगरपालिकाका लागि राजनीतिक र प्रशासनिक चुनौती हुने पनि देखिएको उनले बताए । ‘कतिपय ठाउँमा सरकारी सडक नै कुलोमाथि बनाइएको छ, त्यस्ता संरचना सच्याउन ठूलो लगानी र योजना आवश्यक पर्छ,’ उनले भने ।
स्थानीयवासीले नगरपालिकाको यो कदमको स्वागत गरेका छन् । सार्वजनिक सम्पत्ति मिचेर व्यक्तिगत स्वार्थ पूरा गर्ने परिपाटीले ईतिहास नै मेट्ने काम भएको नागरिक अगुवा योगेन्द्र यादवले बताए । राजकुलो ब्युताउन सकिए यहाँको कृषि र वातावरणीय सन्तुलनमा ठूलो सहयोग पुग्ने उनले बताए । नगरपालिकाले पहिलो चरणमा सूचनामार्फत सचेत गराएको छ । दोस्रो चरणमा अमिनसहितको टोली खटाएर सीमांकन गर्ने तयारी गरेको छ ।
दशकअघिसम्म यहाँस्थित चाँदी नदीको शीरबाट बग्ने पानी बिभिन्न स्थानको कुलो, पैनी हुँदै किसानको खेतसम्म पुग्थ्यो । किसानले मौसम अनुसार लगाइएको बालीमा पानी पटाउन कुलोको साहारा लिन्थे । बर्सेनि कुलो पैनी सफा गर्न हरेक घरबाट किसानहरु खटेर सफा गर्थे । पछिल्लो समय प्लटिङका नाममा राजकुलो मासेर निमिट्याम्म पारिएको छ ।
चन्द्रपुरको टेकान र चिडियादह हुँदै दक्षिणी भेगका एक सय बढी सार्वजनिक कुलो, पैनी प्लटिङको नाममा मासेर बाटो बनाइएको नगरपालिका कार्यालयको दाबी छ । नापी कार्यालयको नक्सामा कुलो, पैनी उल्लेख भए पनि अहिले मासेर घरघरेडी तथा बाटोको रुपमा बिक्री भइरहेको नगरपालिकाको भनाइ छ । यसले किसानको खेतमा पानी पटाउन समस्या हुँदै आएको छ ।
राजकुलो मासिएको भन्दै बिगतमा पनि स्थानीयले नगरपालिकामा उजुरी गरेका थिए । करिब डेढ वर्षअघि चन्द्रपुर अस्पताल क्षेत्रमा पुरानो पैनी मासेर प्लटिङ वालाहरुले बाटो बनाएको भन्दै बिरोध गरे पनि कसैले रोक्ने पहल नगरेको स्थानीयको गुनासो छ । जग्गा व्यवसायी सन्तोषकुमार चौधरीले चन्द्रपुर–६ स्थित झनझनेटोलमा आफ्नै निजी जग्गाको उत्तरतिरको दुई दशकअघिको १४ फिटको पैनी मासेर प्लटिङ गरेका छन् । तर व्यवसायी चौधरीले कुलो मासेर प्लटिङ नगरेको दाबी गरेका छन् । यस क्षेत्रमा रहेका आधाजति पैनी, कुलो अतिक्रमणमा परिसकेको चन्द्रपुर–५ निलहरि कोइरालाले बताए ।
ठाउँ/ठाउँमा मास्ने काम भए पछि किसानले खेतमा निजी पम्पसेट राखेर पानी पटाउने गरेका छन् । बागमती सिँचाइको नहर र प्रशाखा बाहेकका कुलो, पैनी मासिइसकेका छन् । चन्द्रपुर–६ का किसान प्रहलाद थापाले कुलो पैनी मासेर ठूलो समस्या ल्याएको बताए । ‘चुरेको पानी पैनी हुँदै सिधैं किसानको खेतसम्म पुग्थ्यो,’ उनले भने,‘अब पैनी नक्सामा भए पनि भोगचलनमा मासिइसके ।’ केही समयअघि पालिकाले बिभिन्न स्थानमा पुरिएको कुलो सफा गर्ने अभियान चलाएको थियो । मासिएका र पुरिएका कुलोहरु बिगतमा सफा गर्ने काम भएको चन्द्रपुर–६ का वडाध्यक्ष सहदेव केसीले दाबी गरे ।
