औरही गाउँपालिका–३ मा कृषि सडक खन्ने विवादमा घरधनी वीरेन्द्र साहमाथि कुटपिट, गालीगलौज र रुखमा बाँधिएको आरोपमा वडाध्यक्षसहित ६ जनाविरुद्ध जाहेरी परे पनि पक्राउ परेका छैनन् ।
What you should know
सिरहा — औरही गाउँपालिका–३ पिपराका २८ वर्षीय वीरेन्द्र साह सोमबार बिहान घरमै थिए । अचानक आफ्नो जग्गामा लगाइएको गाह्रो भत्काउन डोजर आएको जानकारी पाएपछि उनी हतारहतार त्यतातिर गए ।
डोजर लिएर वडाध्यक्ष जीवछ यादवलगायत आएका रहेछन् । वीरेन्द्रले पर्खाल नभत्काउन अनुनय गरे । तर, वडाध्यक्षले ‘तिम्रो कुनै कुरा म सुन्न तयार छैन’ भन्दै डोजर चलाउन आदेश दिए । त्यसपछि उनी विरोध गर्दै भत्काउन लागिएको पर्खाल छेउमै उभिए । त्यतिकैमा वडाध्यक्षसहित उनीसँगै आएका केही स्थानीयले वीरेन्द्रलाई गालीगलौज र कुटपिट गर्दै छेउमै रहेको रुखमा गम्छाले बाँधिदिए । वीरेन्द्र रोइरहे, उनको आँखैअगाडि पर्खालमाथि डोजर चल्यो, संरचना भत्काइयो ।
‘मैले विकास नहोस् भनेको होइन, तर यहाँ विकासका नाममा भोट नदिएकै कारण लक्षित गरेर प्रतिशोधपूर्ण ढंगले अन्याय गरिएको छ । मैले समाधान चाहेको थिएँ,’ वीरेन्द्रले कान्तिपुरलाई सुनाए, ‘तर, समाधान माग्दा मलाई रुखमा बाँधियो, म रोइरहेँ, डोजर चलिरहृयो ।’
यो जग्गा हुँदै गत वर्ष असारमा वडाध्यक्ष यादवकै अगुवाइमा कृषि सडक निर्माण भएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवशरण यादवका अनुसार १५ लाख बजेटमा ६ सय ४० मिटर कृषि सडक निर्माण भएको हो । त्यसक्रममा केही अन्य स्थानीयसहित वीरेन्द्रका बुवा महादेव साहको नाममा रहेको कित्ता नम्बर ६२० को १ कठ्ठा १६ धुर जग्गामध्ये करिब १५ धुर एकतर्फी रूपमा लिइएको थियो ।
वीरेन्द्रसहित केही स्थानीयले त्यसको त्यतिखेरै विरोध गरे, जसका कारण विवादित बनेर सडक प्रयोगमा आउन सकेन । यसरी जबर्जस्ती निजी जग्गामा सडक बनाउनुको कारण वडाध्यक्षको व्यक्तिगत स्वार्थ रहेको वीरेन्द्रको आरोप छ । उनका अनुसार, त्यस सडकमा वडाध्यक्ष यादव, उपभोक्ता समितिका अध्यक्ष हेमा यादवसहित वडाध्यक्षका आफन्तहरूको खेत पर्छ ।
‘आफ्नो जग्गाको मूल्य बढाउने नियतले वडाध्यक्षलगायतले त्यो सडक खोलेका हुन्,’ उनले भने, ‘तर, जे भए पनि गाउँको विकास हुँदा राम्रै हुन्छ भनेर म सडकका लागि जग्गा दिन तयारै थिएँ । कुनै एकतिरबाट जग्गा लिइयोस् भन्ने मेरो माग थियो, तर चुनावको प्रतिशोध साँध्ने नियतले नै उहाँले दुबैतिरबाट मेरै जग्गा लिनुभयो ।’
सामाजिक सञ्जालमा आएको वीरेन्द्रलाई रूखमा बाँधिएको भिडियोमा वडाध्यक्ष यादवसहितका व्यक्ति देखिएका छन् । जसमा वडाध्यक्ष यादवले वीरेन्द्रलाई हप्काइरहेका देखिन्छन् । वडाध्यक्ष यादवले भने वीरेन्द्रले सडक अतिक्रमण गरेको र खाली गराउन जाँदा अवरोध गरेपछि स्थानीयले उनको हात बाँधेको दाबी गरे । यादव अहिले फरार छन् ।
‘त्यहाँ गत वर्ष नै कृषि सडक निर्माण गरिएको थियो, तर अतिक्रमण गरियो,’ फरार हुनुअघि कान्तिपुरसँगको कुराकानीमा उनले भनेका थिए, 'जग्गा खाली गराउन जाँदा वीरेन्द्रले अवरोध गरे, त्यसपछि मान्छेहरूले उनलाई बाँधेका हुन् ।’ भिडियोमा त तपाईं आफैं देखिनुहुन्छ नि ? भन्ने प्रश्नमा उनले भनेका थिए, 'त्यो सबै गलत कुरा हो ।’
वीरेन्द्रलाई रुखमा बाँधिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले यसबारे चासो लिँदै पीडितसँग घटनाबारे जानकारी लिएको थियो । त्यसको भोलिपल्ट मंगलबार जिल्ला प्रहरी कार्यालय, सिरहाले पीडितले वडाध्यक्षसहित ६ जनाविरुद्ध दिएको जाहेरी दर्ता गरेको छ ।
वडाध्यक्ष यादवसहित स्थानीय हेमा यादव, रामबाबु यादव, मुकेश यादव, सुदीप यादव र बिसुन यादव गरी ६ जनामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए । प्रहरी उपरीक्षक पाठकका अनुसार उनीहरूको खोजीकार्य भइरहेको छ ।
यस घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले पनि चासो लिएको छ । आयोगको टोलीले बुधबार घटनास्थलमै पुगेर यसबारे जानकारी लिएको थियो । आयोगले आफ्नो न्यायका लागि पहल गर्ने आश्वासन दिएको वीरेन्द्रले बताए ।
वडाध्यक्ष यादव यसअघि पनि पदको दुरुपयोग गर्दै सामान्य मानिसलाई धम्क्याउने, गालीगलौज गर्ने, वडाका गतिविधि मनलाग्दी र एकलौटी तरिकाले सञ्चालन गर्ने जस्ता कार्य गर्दै आएको स्थानीय रामएकवाल यादव बताउँछन् । उनका अनुसार केही महिनाअघि पनि उनले गहुँको बीउ वितरण गर्ने विषयमा स्थानीय रुपेश यादवलाई गालीगलौज गरेका थिए । रुपेशले यस विषयमा उजुरी दिएकामा छलफलपश्चात् दुवै जनाबीच मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । अहिलेको घटना मानवताविरुद्धको क्रूर अपराध भएको तर प्रहरीले मुद्दा दर्ता गरे पनि पक्राउ गर्न भने चासो नदिएको औरहीका दीपेन्द्र यादवले बताए ।
‘प्रहरीले मुद्दा त दर्ता गरेको छ, तर पक्राउ गर्नेतर्फ ध्यान दिएको देखिँदैन,’ उनले कान्तिपुरसित भने, ‘यस्तै हुन्छ, मुद्दा दर्ता हुन्छ, तर ठूलाबडा पक्राउ पर्दैनन् । यसले अपराधीको मनोबल झन् बढ्छ, जसकारण मधेशका गाउँघरमा यस्ता क्रूर घटना दोहोरिरहन्छन् ।’
