सिरहामा गोली प्रहारका दुई घटना : रिसइबी साँध्न गरिएको थियो भारतीय 'सुटर'को प्रयोग

अनुसन्धानका क्रममा उपेन्द्रले प्रेमनाथको परिवारसँग आफ्नो चार वर्षदेखि विवाद रहेको र यसैकारण भारतीय सुटरलाई 'सुपारी' दिई उनको हत्या गराएको बयान दिएका छन् ।

वैशाख २८, २०८३

विनय आजाद

Two shooting incidents in Siraha: Indian 'shooter' used to solve RIB

What you should know

सिरहा — यहाँका ४२ वर्षीय प्रेमनाथ यादवको भारतीय सुटरको प्रयोग गरी योजनाबद्ध तरिकाले हत्या भएको खुलेको छ । प्रहरीले तीन महिना लामो अनुसन्धानपछि सिरहा नगरपालिका-१ का यादवको हत्या भारतीय सुटरको प्रयोग गरी भएको पत्ता लगाएको हो ।

यादवको गत माघ १६ गते दिउँसो सिरहा नगरपालिका-७ स्थित आफ्नै खेत छेउको बाँघासारीमा गोली प्रहार गरी हत्या भएको थियो । त्यसपछि अनुसन्धान गर्दै जाँदा स्थानीय ५२ वर्षीय उपेन्द्र यादवले पारिवारिक रिसइबीका कारण उनको हत्या गराएको खुलेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा उपेन्द्रले प्रेमनाथको परिवारसँग आफ्नो चार वर्षदेखि विवाद रहेको र यसैकारण भारतीय सुटरलाई 'सुपारी' दिई उनको हत्या गराएको बयान दिएका छन् । यसबापत उपेन्द्रले सुटरलाई तीन लाख रुपैयाँ दिने डिल भएकामा एक लाख तत्काल दिएको र दुई लाख दिन बाँकी रहेको उनले बताए ।

उपेन्द्रमाथि कर्तव्य ज्यान शीर्षकमा जाहेरी दर्ता गरी सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान कार्य गरिरहेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जनाए । प्रहरी उपरीक्षक पाठकका अनुसार घटनामा संलग्न अन्य भारतीय व्यक्तिहरूको भने खोजतलास भइरहेको छ ।

यस्तै, यस घटनाको अनुसन्धानकै सिलसिलामा प्रहरीले अर्को गोली प्रहारका घटना पनि पत्ता लगाएको छ । औरही गाउँपालिका-५ का श्यामसुन्दर शर्माको पनि सोही सुटरद्वारा हत्या प्रयास भएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

गत माघ ४ गते गाउँमै रहेको जितिया मन्दिरमा चुकुल लगाई सुतिरहेका बेला राति १२ बजेतिर श्यामसुन्दरमाथि गोली प्रहार भएको थियो । झ्यालबाट प्रहार गरिएको गोली उनको टाउकोमा लागेको थियो ।

विराटनगरस्थित अस्पतालमा उनको गोली निकालिएको थियो भने उपचारपछि अहिले उनी निको भएका छन् । स्थानीय ५५ वर्षीय हरि ठाकुरले आफ्नो पारिवारिक रिसइबी साँध्न ती भारतीय सुटरलाई ५० हजार रुपैयाँ दिई ज्यान मार्ने उद्देश्यले गोली प्रहार गराएको तथ्य प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हरिसहित भारतीय सुटर र उनीहरूलाई ती सुटरसँग जोड्न भूमिका खेल्ने व्यक्तिको पनि खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully