सरकारसँग सुकुमवासी हरवा-चरवाको प्रश्न : ‘संरक्षण जमिनको मात्रै गर्ने कि हाम्रो पनि ?’

मुक्त हरवा-चरवा अधिकार मञ्चका अध्यक्ष दशन मण्डलले मधेश प्रदेशमा डेढ लाखभन्दा बढी हरवा-चरवा रहेको र उनीहरू अधिकांश सरकारी, ऐलानी तथा सार्वजनिक जग्गामा बसोबास गरिरहेको बताए ।

वैशाख २८, २०८३

विद्यानन्द राम

Sukum dwellers' question to the government: 'Will they protect only the land or ours as well?'

राजविराज — सरकारले सरकारी र सार्वजनिक जग्गामा भएका अतिक्रमण खाली गराउन सूचना जारी गरेसँगै सुकुमवासी हरवा-चरवाले उठिबास हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । सोमबार राजविराजमा आयोजना गरिएका ‘ज्याला, मर्यादा र सुरक्षा विषयक जिल्लास्तरीय कार्यशाला’मा सहभागी उनीहरूले भत्काउनुअघि बसोबासको व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् ।

मुक्त हरवा-चरवा अधिकार मञ्चका अध्यक्ष दशन मण्डलले मधेश प्रदेशमा डेढ लाखभन्दा बढी हरवा-चरवा रहेको र उनीहरू अधिकांश सरकारी, ऐलानी तथा सार्वजनिक जग्गामा बसोबास गरिरहेको बताए । ‘कसैको पनि आफ्नो जग्गा–जमिन छैन,’ उनले भने, ‘भएको झुप्रो पनि भत्काए उनीहरू कहाँ जान्छन ?, सरकारले संरक्षण जमिनको मात्रै गर्ने कि हाम्रो पनि ?’

उनले जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहहरूले सूचना गर्दादेखि नै सुकुमवासी हरवा-चरवाको निन्द्रा हराएको दुखेसो पोखे । ‘कुनै सरकार आउँदा पनि हरवा-चरवाले न उचित ज्याला पाए, न त मर्यादा र सुरक्षा नै,’ उनले थपे, ‘बासस्थान भत्काउनुअघि व्यवस्थापन गर्न स्थानीय सरकारसँग आग्रह छ ।’

राष्ट्रिय दलित नेटवर्कका कार्यकारी निर्देशक हुकुम सार्की लगायतले अर्काको खेतबारीमा काम गरेर परिवार पाल्दै आएका हरवा-चरवाको सम्मानजनक पारिश्रमिक निर्धारण गर्नुपर्ने माग गरे । मुक्त हरवा-चरवा अधिकार मञ्चले जिल्ला समन्वय समितिका प्रमुखको प्रमुख आतिथ्यमा कार्यशालामा राखेको थियो । त्यस कार्यक्रममा यहाँका १८ वटै पालिकाका प्रमुख, उप–प्रमुख, वडाध्यक्ष, प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारीसमेतलाई आमन्त्रणा गरिएको थियो । तर, शम्भुनाथ नगरपालिका–४ का वडाध्यक्ष विजय साहबाहेक कोही पनि उपस्थित नहुँदा हरवा-चरवाले दुःख व्यक्त गरेका छन् ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully