चैत अन्तिम साता कार्यक्रम परिसरका पन्छीमा पहिलोपटक बर्डफ्लु देखिएको थियो ।
What you should know
पर्सा — अनुसन्धानका लागि पालिएका सबै पन्क्षी बर्डफ्लुले मरेपछि राष्ट्रिय पन्क्षी अनुसन्धान कार्यक्रम परवानीपुरको अनुसन्धान कार्य प्रभावित भएको छ । चैत अन्तिम साता कार्यक्रम परिसरका पन्छीमा पहिलोपटक बर्डफ्लु देखिएको थियो ।
कार्यालयका सूचना अधिकृत खमबहादुर प्रजाले २१ चैतमा पहिलो पटक टर्कीमा बर्डफ्लु देखिएकोमा पछि अन्य पन्क्षीमा पनि सर्दै गएको बताए । ‘सुरूमा डेढ दर्जन टर्की एकै रात मरे,’ उनले भने, ‘त्यसपछि अन्य पन्क्षीमा पनि सर्न थाल्यो, प्रयोगशाला परीक्षणपछि बर्डफ्लु पुष्टि भयो ।’ त्यसपछि बाँचेका केही पन्क्षी र पन्क्षीजन्य बस्तु समेत १ वैशाखमा नष्ट गरिएको उनले बताए । गिरिराज, न्यु ह्यम्पसायर, ब्ल्याक स्ट्रलोप आदि प्रजातिका करीब १२ सय कुखुरा, २ हजार चल्ला, ३३ तित्रा, ४७ टर्की, ५०० बट्टाई मरेका छन् । ४ हजार अन्डा नष्ट गरिएको छ । ८३५ किलो एल-१, ४५५ किलो एल-२ र १८३५ किलो एल-३ दाना पनि नष्ट गरेको प्रजाले जानकारी दिए ।
हालसम्म केन्द्रमा बर्डफ्लु कहाँबाट भित्रियो भन्ने यकिन भई नसके पनि दानाबाट फैलिएको अनुमान गरिएको प्रजा बताउँछन् । सबैगरी कार्यालयमा करीब ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको उनले बताए ।
बर्डफ्लु देखिएपछि पन्क्षी पालिएका कोठाहरू सफा गर्ने, मल पुर्ने, चुना छर्किने, आगोको राँको बालेर किटाणु नष्ट गर्नेलगायतका सम्पूर्ण सरसफाई र निर्मलीकरणको काम भई रहेको उनले बताए ।
तत्काललाई कार्यक्रम परिसर पन्क्षी शून्य भएर अनुसन्धान रोकिएको छ । तर, अन्य केन्द्रहरूमा रहेका पन्क्षी ल्याएर भए पनि छिट्टै अनुसन्धान सुरु गर्ने तयारी भई रहेको उनले बताए । ‘अन्य केन्द्रबाट पन्क्षी ल्याएर भए पनि रोकिएको अनुसन्धान कार्यलाई पुनः सुरु गर्ने हाम्रो प्रयास जारी छ,’ उनले भने, ‘साथै कतिपय पन्क्षीपालकले हामी कहाँबाटै लगेका चल्लाबाट हुर्किएका पन्क्षीहरू पनि ल्याउन सकिन्छ ।’
