वीरगन्ज सडक विस्तारको बिरोधमा स्थानीय आन्दोलित

सडक विस्तारको नाममा पुराना बस्ती र व्यापारिक संरचना हटाउन खोजिएको भन्दै उनीहरूले बिहीबार मानव साङ्लो निर्माण गरेर प्रदर्शन गरेका हुन्।

वैशाख २४, २०८३

शंकर आचार्य

Locals protest against Birgunj road expansion

पर्सा — वीरगन्जस्थित त्रिभुवन राजपथअन्तर्गतको मुख्य सडक विस्तारको तयारीविरुद्ध स्थानीय घरधनी तथा व्यवसायीहरूले प्रदर्शन गरेका छन् ।

सडक विस्तारको नाममा पुराना बस्ती र व्यापारिक संरचना हटाउन खोजिएको भन्दै उनीहरूले बिहीबार मानव साङ्लो निर्माण गरेर प्रदर्शन गरेका हुन्।

गण्डकदेखि मितेरी पुलसम्मको व्यापारिक क्षेत्रका बासिन्दा तथा घरधनीहरूले मुख्य सडकको दुवैतर्फ हातमा हात जोडेर मानव साङ्लो बनाएर प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले ‘डोजर आतंक बन्द गर’, ‘विकासको नाममा विनाश गर्न पाइँदैन’, ‘हामी विकास चाहन्छौं, उठीबास होइन’ तथा ‘वीरगन्जको मेनरोडलाई सहरी मार्ग कायम गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शनमा सहभागी स्थानीयहरूले दशकौंदेखि कानुनी प्रक्रिया पूरा गरी निर्माण गरिएका घर तथा व्यापारिक संरचना भत्काउने प्रयासले वीरगन्जको आर्थिक गतिविधि र ऐतिहासिक पहिचानमाथि गम्भीर असर पर्ने बताएका छन्।

उनीहरूले त्रिभुवन राजपथको वैकल्पिक मार्ग बाइपास सडक सन्चालनमा आइसकेकाले मुख्य बजार क्षेत्रलाई फराकिलो राजमार्गका रूपमा नभई सहरी मार्गका रूपमा विकास गर्नुपर्ने माग राखेका छन्।

विरोध सभालाई सम्बोधन गर्दै वीरगन्जका पूर्वमेयर विजय सरावगीले आफूहरू विकास विरोधी नभएको बताए । उनले वैज्ञानिक अध्ययन, उचित मुआब्जा र वैकल्पिक व्यवस्थाबिना सडक विस्तारका नाममा डोजर चलाउनु अन्यायपूर्ण हुने बताए।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully