सेजमा सन्चालनमा रहेका र थपिनेसमेत गरी हालसम्म २१ उद्योग दर्ता भइसकेका छन् ।
What you should know
पर्सा — संघीय सरकारले यस वर्षको बजेट भाषणबाट विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) सिमराको जग्गा भाडा घटाएपछि सेजमा नयाँ उद्योग थपिने क्रम ह्वात्तै बढेको छ । सरकारले साबिकमा प्रतिवर्ग मिटर २० रुपैयाँबाट सेजको जग्गाको भाडा प्रतिवर्ग मिटर ५ रुपैयाँमा झारेपछि यस वर्ष मात्रै झण्डै एक दर्जन नयाँ उद्योग सेज परिसरमा निर्माणाधीन अवस्थामा छन् । तीमध्ये आधाभन्दा बढीमा भारतीय र चिनियाँ लगानीकर्ता छन् ।
सेज साइट इन्चार्ज इन्जिनियर पप्पु गिरीका अनुसार हाल उद्योग परिसरमा निर्माणाधीन अवस्थामा भारतको एजिएल समूह र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा नेपोभिट सेरामिक्स प्रालि निर्माणाधीन अवस्थामा छ । ५ सय करोडको लगानीको यो उद्योगले टायल र सेनिटरी बस्तु उत्पादन गर्नेछ ।
दक्षिण कोरियाली लगानीकर्ता रहेको केमेक्स हिमालय उद्योगले श्रृङ्गारका सामग्री उत्पादन गर्नेछ । त्यसैगरी, नेपाली र भारतीय लगानीकर्ताको संयु्क्त लगानीमा निर्माणाधीन रेम्बो ग्रेनाइट प्रालिले ग्रेनाइट उत्पादन गर्नेछ ।
नेपाली र भारतीय लगानीकर्ताको संयुक्त लगानीमा पाम तेल उत्पादन गर्ने इन्डो एग्रो पनि हाल सेज परिसरमा निर्माणाधीन रहेको छ । पूर्णतया भारतीय लगानीकर्ताको लगानीमा निर्माणाधीन ओमकार प्रालिले पनि ग्रेनाइट उत्पादन गर्नेछ । चिनियाँ लगानीकर्ता रहेको ग्याङ उइङ बायो टेक्नोलोजीले औषधिको कच्चा पदार्थ उत्पादन गर्नेछ । नेपाली र चिनियाँ लगानीकर्ताको संयुक्त लगानीमा आल्मुनियम उत्पादन गर्ने ला डी कर प्रालि उद्योग पनि निर्माणको क्रममा रहेको छ ।
भारतीय लगानीकर्ता रहेको ओम मेगा श्री प्रालिले डाइपर र सेनिटरी प्याड उत्पादन गर्ने तयारीका साथ उद्योगको पूर्वाधार निर्माण गरिरहेको छ । हुलास समूहको हुलास केवल प्रालि तार उत्पादन गर्ने लक्ष्यका साथ निर्माणाधीन अवस्थामा रहेको छ । भारतीय लगानीकर्ता रहेको ‘मा तारा प्रालि’ ले मसला उत्पादन गर्ने योजनासहित आफ्नो उद्योगको निर्माण गरिरहेको छ । हस्तकलाका सामान उत्पादन गरी पूर्ण रुपले निर्यात गर्ने योजनासहित एभरेष्ट फेसन प्रालिको पूर्वाधार पनि हाल निर्माणको क्रममा छ । यी उद्योग निर्माण भई सन्चालनमा आए थप १ हजार नयाँ जनशक्तिले सेजमा पूर्णकालीन रोजगारी पाउनेछन् ।
यसअघि नै सेजमा ७ उद्योग स्थापना भई सन्चालनमा रहेका छन् । तिनमा, टायल उत्पादन गर्ने पशुपति सेरामिक्स, जुत्ता उत्पादन गर्ने ब्रिलिएन्ट शुज प्रालि, ग्रेनाइट उत्पादन गर्ने लक्ष्मी ग्रेनाइट, पंखा, चुलो आदि उत्पादन गर्ने बालाजी म्यानुफ्याक्चरिङ, कृषि उपकरण उत्पादन गर्ने नेपाल एग्रो टुल्स, विद्युतीय सवारी उत्पादन गर्ने चिनियाँ लगानीको एसियन भेहिकल्स र विश्व बैंकको लगानीमा न्युजिल्याण्डका व्यवसायीको बायो कम्प नेपाल नामक उद्योग सन्चालनमा रहेका छन् । यी उद्योगले ७ सय जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् ।
जग्गा भाडा घटेपछि उद्योग बढी आउनुले यसअघिको भाडा दर चर्को रहेकाले सेजमा नयाँ उद्योग थपिन निक्कै समय लागेको अनुमान गरिएको छ । ८ सय ३३ बिघामा फैलिएको सेज परिसरमा ‘ए’ देखि ‘इ’ सम्म गरेर कूल ५ ब्लक रहेका छन् । तीमध्ये सबैभन्दा बढी अर्थात् ३ सय ४३ बिघा जग्गा चर्चेको ‘ए’ ब्लकको १ सय ६५ बिघा क्षेत्रमा हालसम्म उद्योग सन्चालनमा या निर्माणाधीन अवस्थामा छन् । सेजमा सन्चालनमा रहेका र थपिनेसमेत गरी हालसम्म २१ उद्योग दर्ता भइसकेका छन् ।
सेज साइट इन्चार्ज गिरी पनि नयाँ उद्योगहरुलाई सेजमा आकर्षित गर्ने हरसम्भव प्रयास भइरहेको र हाल जग्गा भाडा घटाउनु पनि त्यसकै एक प्रयास रहेको बताउँछन् । सेजमा ३० वर्षका लागि जग्गा भाडामा पाइन्छ । यहाँ स्थापना हुने उद्योगले पहिलो तीन वर्ष स्वदेशमै आफ्ना उत्पादन बिक्री गर्न पाउँछ । त्यसपछि चौथो वर्षमा आफ्ना उत्पादनको १५ प्रतिशत र पाँचौं वर्षमा ३० प्रतिशत उत्पादन निकासी गर्नुपर्छ ।
