नदीमा ‘करेन्ट’को रजगज, जैविक विविधतालाई संकटमा पारेको सरोकारवालाको भनाइ ।
What you should know
रौतहट — चन्द्रपुर नगरपालिका–१ स्थित बाग्मती नदीमा पछिल्लो समय विद्युतीय धराप (करेन्ट) प्रयोग गरी माछा मार्ने क्रम बढेको छ । करेन्ट प्रयोग गरेर माछा मार्ने क्रम बढेसँगै स्थानीयमा नदीको जैविक विविधता नै मासिने चिन्ता थपिएको छ ।
गत सोमबार नदीमा भुरा छोड्ने र जनचेतना मूलक कार्यक्रम संचालन गर्न बाग्मती र कोसी नदी अनुगमन, ठाउँ छनोट कार्यक्रममा जाने क्रममा बाग्मती नदीमा करेन्ट प्रयोग भएको देखेपछि प्राकृतिक जलाशय तथा प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडाका प्रमुख सरोजकुमार यादव त्यहाँ पुगेर तस्बिर खिचेका थिए । यत्तिकैमा माछा मार्ने समूहले यादवको मोबाइल खोस्ने प्रयास गरेको थियो ।
‘गैरकानुनी काम गरेको देखेपछि मैले तस्बिर लिएको हुँ । नदीमा ब्याट्री र करेन्ट जडित तारको प्रयोग गरी माछा मार्नु वातावरणीय अपराध हो,’ उनले भने, ‘यसरी करेन्ट लगाउँदा खानयोग्य माछा मात्र नभई साना भुरा, अण्डा र नदीका अन्य जलचरसमेत मर्छन् । यसलाई रोक्नु पर्छ । यस क्षेत्रमा जनचेतनामूलक कार्यक्रम गर्न जरुरी छ ।’ नदीमा करेन्ट प्रयोग गरेर माछा मारिरहेको समूहलाई देखेपछि उनले गैरकानुनी कार्यको प्रमाण जुटाउन तस्बिर लिन खोजेको बताए ।
सरकारी कर्मचारीमाथि नै यस किसिमको व्यवहारले नदीमा सक्रिय ‘माछा माफिया’को मनोबल कतिसम्म बढेको छ भन्ने स्पष्ट पार्छ । घटनालगत्तै प्रमुख यादवले जिल्ला प्रहरी प्रमुख एसपी सीताराम रिजाललाई फोन गरेका थिए । त्यसपछि घनास्थलमा प्रहरी पुगेको थियो । माछा मार्ने समूह भने ब्याट्री र तार बोकेर भागेको थियो । प्रमुख यादवसहितको टोलीले पिछा गरेर ब्याट्री र तार नियन्त्रणमा लिएको छ । तर माछा मार्ने समूह भने फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी पौराईको आडैमा गैरकानुनी क्रियाकलाप भइरहँदा चौकीका इन्चार्ज वीरेन्द्रप्रसाद यादवले करेन्ट प्रयोग भएको आफूलाई कसैले फोन गरेपछि मात्र थाहा हुने बताए । ‘हामीले करेन्ट प्रयोग गर्ने समूहको घरमै पुगेर ब्याट्री र तारसमेत नियन्त्रणमा लिएका थियौं,’ उनले भने, ‘थाहा पाएसम्म रोक्ने प्रयास गर्छौं ।’ स्थानीयका अनुसार करेन्ट प्रयोग गरेर माछा मार्ने क्रम रोक्न चौकीले अहिलेसम्म कुनै प्रयास नगरेको छैन । 
नेपालको जलचर संरक्षण ऐन तथा स्थानीय वातावरण संरक्षण कानुनले विद्युतीय करेन्ट, विष र बमको प्रयोग गरी माछा मार्न पूर्णतः निषेध गरेको छ । यस्तो कार्य गर्नेलाई जरिवाना र जेल सजायसम्मको व्यवस्था छ । बाग्मती नदीमा ब्याट्री र करेन्ट जडित तारको प्रयोग गरी माछा मार्नु वातावरणीय अपराध हो । जलचर संरक्षण ऐन, २०५५ ले जलचर मार्ने वा समात्ने उदद्देश्यले करेन्ट, विष वा विस्फोटक पदार्थको प्रयोगलाई पूर्णत बर्जित गरेको छ । यस्तो कार्य गर्नेलाई ६ महिनासम्म कैद वा ५ हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । तर, स्थानीय प्रहरीको फितलो उपस्थिति र कानुनको कार्यान्वयनमा देखिएको उदासीनताका कारण शक्तिशाली समूहले एक दशकदेखि करेन्ट प्रयोग गर्दै आएको छ । यस्तो हर्कत गर्नेलाई स्थानीय अधिकारीले कैद सजाय तोक्न सक्ने ऐनमा व्यवस्था छ ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले करेन्ट प्रयोग गर्दा माछा मात्र होइन यसले जैविक विविधता संकटमा पार्न सक्ने बताए । ‘यस्ता गैरकानुनी काम कदापि हुन दिनु हुँदैन भनेर कडाइ गर्न भनेको छु,’ उनले भने, ‘नदीमा करेन्ट प्रयोग भएको फेला पारे कानुनबमोजिम कारबाही हुनेछ । यस्तो कार्यलाई माफी मिनाहा गर्न मिल्दैन ।’
स्थानीय बासिन्दाका अनुसार हरेक दिन बिहानैदेखि करेन्ट प्रयोग गर्नेहरूको पछाडि ब्याट्री बोकेर हुलका हुल नदीमा सक्रिय हुन्छन् । स्थानीयले पटक–पटक प्रहरीलाई यसको जानकारी दिए पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् । नदीमा कानुनविपरीत विद्युतीय करेन्ट (इलेक्ट्रो–फिसिङ) को प्रयोग गरी माछा मार्ने क्रम बढेपछि बाग्मतीको जलचर प्रणाली नै ध्वस्त हुने अवस्थामा पुगेको छ ।
करेन्टको झड्काले पानीभित्रको अक्सिजनको स्तर र जैविक प्रणालीमा समेत असर पार्ने र यसले गर्दा माछाको प्रजनन क्षमतामा पनि ह्रास आउनुका साथै अन्य जलजीव भ्यागुता, सर्प, गंगटो आदि समेत लोप हुने खतरा बढेको प्राकृतिक जलाशय तथा प्रवर्द्धन एवं सरक्षण केन्द्रले जनाएको छ । बाग्मती नदी रौतहटको वातावरणीय र आर्थिक मेरुदण्ड हो । अवैध माछा मार्ने कार्यले पार्ने दीर्घकालीन असरबारे नदी किनारका बस्तीमा व्यापक चेतना फैलाउने कार्यक्रमको आयोजना गर्नुपर्ने सरक्षण केन्द्रको भनाइ छ ।
२०७३ सालमा बाग्मतीका स्थानीयले करेन्ट प्रयोग रोक्न प्रहरीसमक्ष लिखित निर्णयसहितको ज्ञापनपत्र बुझाएका थिए । पत्र बुझेपछि प्रहरीले केही सयम नियन्त्रणमा चासो देखाएको थियो । अहिले फेरि दिनहुँ करेन्ट प्रयोग हुन थालेको छ ।
