इन्जिनियर भोलाप्रसाद साहले गण्डकतर्फबाट मापनको काम सुरु गरिएको र मंगलबार चिनी मिलसम्मको राजमार्गको दायाँबायाँ मापन गर्ने काम पूरा भएको बताए ।
पर्सा — त्रिभुवन राजपथको मुख्य सडक विस्तारका लागि सडकको केन्द्रबिन्दु निर्धारण गर्ने कार्य मंगलबारदेखि वीरगन्जमा सुरु भएको छ ।
सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनयिर मदनमोहन कुमार सिंहका अनुसार कार्यालयका प्राविधिकसँगै नापी कार्यालय वीरगन्ज, वीरगन्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्राविधिक र कर्मचारी यो काममा खटिएका छन् ।
वीरगञ्ज महानगरपालिकामा सरोकारवालाहरूको संयुक्त बैठकले त्रिभुवन राजपथको आधिकारिक मापदण्डअनुसार सडकको केन्द्रबिन्दु पहिचान गरी सो स्थानमा स्टिलका किल्ला गाड्ने निर्णय गरेसँगै मंगलबारदेखि केन्द्रबिन्दु निर्धारणको काम सुरु भएको सिंहले जानकारी दिए ।
कार्यालयका अर्का इन्जिनियर भोलाप्रसाद साहले गण्डकतर्फबाट मापनको काम सुरु गरिएको र मंगलबार चिनी मिलसम्मको राजमार्गको दायाँबायाँ मापन गर्ने काम पूरा भएको बताए । कार्यालयले मापदण्डअनुसार नै राजमार्गको मध्यबाट २५/२५ मिटर दायाँबायाँ मापन गरिरहेको उनले जानकारी दिए ।
साताअघि कार्यालयलले हालसम्म सडक विस्तारका क्रममा सडकछेउका केही संरचना हटाइए पनि सडकको वास्तविक केन्द्रबिन्दु स्पष्ट नभएकाले स्थानीय घरधनीमा यस सम्बन्धमा अन्योल थियो । आ-आफ्नो भौतिक संरचना कहाँसम्म हटाउनुपर्ने हो भन्ने विषयमा अधिकांश स्थानीयमा अन्योल थियो ।
यसअघि वैशाख ६ र ७ दुई दिन सडक डिभिजन कार्यालयले गण्डकदेखि भन्सारसम्मका घर–टहरामा डोजर प्रयोग गरी संरचना हटाउने काम गरेको थियो । दुई दिनमा सडक डिभिजन कार्यालयले १ हजार २ सय संरचनामा प्रारम्भिक चरणको काम गरेको थियो । बाँकी काम अब घरधनी आफैंले गर्नुपर्ने तोकिएको छ ।
