आर्थिक तथा प्रशासनिक कार्य सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना कार्यान्वयनमै चुनौती थपिएको कल्याणपुर नगरपालिकाकी कार्यवाहक प्रमुख रेखाकुमारी यादवले सुनाइन् ।
What you should know
सिरहा — लहान नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उपसचिव जयकान्त झाले वैशाख ५ गते अवकाश पाए । त्यसपछि लहानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गाप्रसाद भूर्तेललाई पठाएको छ ।
मन्त्रालयले उपसचिव भूर्तेललाई वैशाख ८ मै सरुवा गरेको थियो । तर, केन्द्र सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत उनी अझैसम्म पनि नगरपालिकामा हाजिर भएका छैनन् । उनले छिट्टै हाजिर हुने भने पनि अहिलेसम्म नआएको नगरपालिकाले जनाएको छ ।
लहानमा मात्रै होइन, सिरहाका चारवटा स्थानीय तहमा मन्त्रालयद्वारा नयाँ पठाइएका प्रशासकीय अधिकृत अहिलेसम्म हाजिर भएका छैनन् । कल्याणपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरिएका उपसचिव विश्वरुप दाहाल पनि अझैसम्म अनुपस्थित छन् ।
राष्ट्रिय योजना आयोगमा कार्यरत उनलाई मन्त्रालयले चैत २६ मै सरुवा गरेको थियो । यसैगरी, धनगढीमाई नगरपालिकामा पठाइएका उपसचिव मोहन निरौला पनि अहिलेसम्म नगरपालिकामा हाजिर भएका छैनन् ।
युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत निरौलालाई चैत १९ मै मन्त्रालयले धनगढीमाईमा सरुवा गरेको थियो । यस्तै, गोलबजार नगरपालिकामा स्वास्थ्य मन्त्रालयबाट पठाइएका उपसचिव रूपनारायण खतिवडा पनि अहिलेसम्म अनुपस्थित छन् ।
यसरी नगरपालिका प्रशासकीय अधिकृतविहीन हुँदा आर्थिक तथा प्रशासनिक कामकाज नै प्रभावित बन्न पुगेको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गुनासो गरे । 'हामी असार मसान्तको मुखमा आइपुगेका छौं, यतिबेला योजनाहरूलाई तीव्र गतिमा अगाडि बढाउन पर्नेछ,' चौधरीले कान्तिपुरसित भने, 'तर, प्रशासकीय अधिकृत नहुँदा मुख्य कामकाज नै ठप्प छ ।'
कल्याणपुर नगरपालिकाकी कार्यवाहक प्रमुख रेखाकुमारी यादवले पनि यस्तै गुनासो गरिन् । आर्थिक तथा प्रशासनिक कार्य सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना कार्यान्वयनमै चुनौती थपिएको उनले सुनाइन् । 'यो काम गर्ने बेला हो, उहाँ छिट्टै आइदिनुभए राम्रो हुन्थ्यो,' उनले भनिन् ।
मन्त्रालयले सरुवा गरे पनि प्रशासकीय अधिकृतहरू अटेर गर्दै अहिलेसम्म पनि हाजिर नभएको विषयमा मन्त्रालयकी सचिव चन्द्रकला पौडेलले भने बोल्न अस्वीकार गरेकी छन् । फोन नउठेपछि प्रतिक्रियाका लागि म्यासेज पठाउँदा 'हस् सर, धन्यवाद' भन्दै रिप्लाई पठाएकी छन् ।
