कृषि क्षेत्रलाई वैज्ञानिक ढंगले अघि बढाउने गरी गाउँपालिकाले बिहीबार एकीकृत कृषि जीविकोपार्जन तथा सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको हो ।
What you should know
सिरहा — सिरहाको अर्नमा गाउँपालिकाले कृषिमार्फत समृद्धि हासिल गर्ने उद्देश्यसहित महत्त्वाकांक्षी परियोजना घोषणा गरेको छ । कृषि क्षेत्रलाई वैज्ञानिक ढंगले अघि बढाउने गरी गाउँपालिकाले बिहीबार एकीकृत कृषि जीविकोपार्जन तथा सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको हो ।
यस परियोजनाअन्तर्गत गाउँपालिकामा क्वारेन्टाइन तथा शीत भण्डार निर्माण, किसानलाई गाउँपालिकासँग जोड्न कल सेन्टर स्थापना गरिने, किसानका हरेक उत्पादन घर-खेतमै खरिद गरी सिधा बजारसम्म पुर्याइने, आँपलाई ब्रान्डिङ गरिने, दूध उत्पादन र राँगा पालनलाई प्रोत्साहन गरिने र यिनमा आधारित उद्योग स्थापनालगायतका कार्य गरिनेछ ।
यसले अथाह सम्भावना हुँदाहुँदै पनि धराशायी बनेको कृषि क्षेत्रको उत्थान हुने, किसानकै उत्पादनले बिचौलिया सधैं नाफामा रहने अवस्थाको अन्त्य गर्दै किसानलाई कृषिमै आत्मनिर्भर बनाउने, रोजगारीकै लागि स्थानीय जनशक्ति पलायनलाई रोक्ने परियोजनाका विज्ञ अर्जुन भट्टले बताए ।
यतिमात्र नभई गाउँपालिकामा स्थापना गरिने उद्योगमा सरकारी लगानीसँगै निजी क्षेत्र र मुनाफा पाउने गरी स्थानीय किसानले पनि लगानी गर्न पाउनेछन् । जसले हरेक किसानलाई सधैंका लागि आर्थिक तथा सामाजिक सुरक्षा प्रदान गर्ने र ग्रामीण अर्थतन्त्र उकास्ने गाउँपालिकाका अध्यक्ष अशोककुमार यादवले बताए ।
'यहाँ कृषिमा अनेक सम्भावना छ, हामीले यसलाई मात्रै उठाउन सक्यौं भने रोजगारीकै लागि यहाँका मानिस कतै जानुपर्दैन, कृषिमा सबैले भविष्य देख्ने वातावरण निर्माण हुन्छ, कृषकले आत्मसम्मानका साथ बाँच्न पाउने वातावरण बन्छ,' उनले भने, 'त्यसैले यो हाम्रो गेम चेन्जर प्रोजेक्ट हो ।'
यो परियोजनालाई अब कार्यान्वयनमा लैजान गाउँपालिकाले आवश्यक कानुन तथा कार्यविधि बनाइसकेको गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत द्रोपतीकुमारी यादवले बताइन् । गाउँपालिकाले पहिलो पाँच वर्षमा यो परियोजनामा १७ करोड लगानी गर्ने र थप आर्थिक स्रोत जुटाउनका लागि प्रदेश, संघ सरकार तथा निजी क्षेत्रसँग समन्वय गरिने उनले जानकारी दिइन् ।
