बेथिति, मनोमानी र अपारदर्शी कामकाज भइरहेको भन्दै पत्रकार महासंघ जिल्ला सहसचिव कृष्णकुमार मण्डलले धर्ना सुरु गरेका हुन् । मण्डलले ८ बुँदे माग अघि सार्दै महासंघको मूलगेटमा धर्ना सुरु गरेका छन् ।
राजविराज — नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा बेथिति, मनोमानी र अपारदर्शी कामकाज भइरहेको भन्दै जिल्ला सहसचिव कृष्णकुमार मण्डलले धर्ना सुरु गरेका छन् । बुधबारबाट मण्डलले ८ बुँदे माग अघि सार्दै महासंघको मूलगेटमा धर्ना सुरु गरेका हुन् ।
कार्यसमितिका सचिवले केही महिनाअघि नै राजिनामा दिइसकेको मण्डलले बताए । तर, महासंघमा ‘सिण्डीकेट’ चलाउनका लागि उनको राजिनामा स्वीकृत नगरेको मण्डलको आरोप छ । सचिव पदसम्बन्धी अन्योल तत्काल अन्त्य गरी औपचारिक निर्णय सार्वजनिक हुनुपर्ने, नयाँ सदस्यता तत्काल पारदर्शी, निष्पक्ष र मापदण्डअनुसार वितरण हुनुपर्ने, सल्लाहकारहरूको नाम आधिकारिक रूपमा बोर्डमा समावेश हुनुपर्ने उनले माग अघि सारेका छन् ।
नेतृत्वले गरिरहेको मनोमानी कार्यको विरोध गर्दा आफूलाई सहसचिवको हैसियतमा कार्यसमिति बैठकमा सहभागी हुनबाट वञ्चित गरिएको पनि उनले आरोप लगाएका छन् ।
पत्रकारहरूको हकहित, सुरक्षा र क्षमता विकासका ठोस कार्यक्रम सञ्चालन हुनुपर्ने, आर्थिक गतिविधि, आयव्यय तथा सम्पूर्ण निर्णय सार्वजनिक हुनुपर्ने, साधारणसभा तथा सदस्यता नवीकरण नियमित रूपमा हुनुपर्ने उनको माग छ । नेतृत्वका कमजोरीबारे स्पष्ट सार्वजनिक जवाफ दिनुपर्ने र विधानको अक्षरशः पालना हुनुपर्ने सहसचिव मण्डलले माग गरेका छन् । आफ्नो माग सुनुवाइ नभएसम्म धर्ना कार्यक्रम जारी राख्ने उनको भनाइ छ ।
अध्यक्ष श्रवणकुमार देवले ती विषयमा छलफल भइरहेको बताए । ‘तीसहित अन्य विषयमा हाम्रो छलफल जारी छ,’ उनले भने ।
