सर्लाहीको बरहथवा नगरपालिका–१ सहनीटोलस्थित हरैया घाटमा मनलाग्दी नदीजन्य पदार्थ उत्खनन् भइरहेको पाइएको हो ।
What you should know
सर्लाही — रौतहट र सर्लाही सीमाको बागमती नदीमा नदीजन्य पदार्थ संकलनका लागि ठेक्का लागेको छैन । तर नदीमा मनपरी ढंगले उत्खनन् भइरहँदा नियामक निकाय मौन बसेका छन् ।
सर्लाहीको बरहथवा नगरपालिका–१ सहनीटोलस्थित हरैया घाटमा मनलाग्दी नदीजन्य पदार्थ उत्खनन् भइरहेको पाइएको हो । सर्लाहीका प्रतिनिधिसभा सदस्य नरेन्द्र साह कलवार, प्रमुख जिल्ला अधिकारी रामुराज कडरियासहितको टोली आइतबार बिहान अनुगमनमा पुग्दा खोलामा उत्खनन् गरिरहेका एक दर्जन बढी टिपर र जेसिबी रौतहटतर्फ फरार भएका थिए ।
रौतहटको गढीमाई र बृन्दावन नगरपालिकाले रौतहट क्षेत्रमा नदी उत्खनन्का लागि ठेक्का लगाएका छन् । तर ठेकेदार पक्ष सर्लाही तर्फ प्रवेश गरेर नदीजन्य पदार्थ उत्खनन् गरिरहेका छन् । यहाँ स्थानीय र ठेकेदार पक्षबीच पटक पटक झडप समेत भइसकेको छ ।
स्थानीयले सर्लाहीतर्फ अवरोध गर्दा ठेकेदार पक्षबाट कुटपिट हुने गरेको स्थानीयको गुनासो छ । उनीहरुले सहनी टोलमै रहेको प्रहरी चौकीमा जानकारी गराए पनि प्रहरीले कुनै वास्ता नगरेको दुःखेसो पोखे । स्थानीयका अनुसार नदीको अवैध उत्खनन्मा प्रहरीको समेत मिलेमतो छ ।
नदीजन्य पदार्थ उठाउने ठेक्का रौतहटमा लागे पनि ठेकेदारले सर्लाहीतर्फ तटबन्धकै छेउमा आएरसमेत अन्धाधुन्ध उत्खनन् गरिरहेको बरहथवा नगरपालिका–१ का वडाध्यक्ष राकेश सहनीले जानकारी दिए । हरैया घाटमा मनपरी उत्खनन् गरेर दर्जनौं स्थानमा पोखरीझैं ठूल्ठूला खाल्डो पारिएको छ ।
‘नदीजन्य पदार्थ उत्खनन्कालागि रौतहटमा ठेक्का लागेको छ, तर ठेकेदार सर्लाहीको तटबन्ध छेउमा आएर नदीजन्य पदार्थ निकाल्ने गरेका छन्,’ वडाध्यक्ष सहनीले भने, ‘स्थानीयले अवरोध गर्न खोज्दा उनीहरु कुटाकुटमा उत्रन्छन्, हाम्रो सुनुवाई नै हुँदैन । यहाँ रातदिन अन्धाधुन्द उत्खनन् हुन्छ तर हामीसँग टुलुटुलु हेरेर बस्नेबाहेक विकल्प छैन ।’
प्रमुख जिल्ला अधिकारी कडरियाले बागमतीमा अबैध उत्खनन् भइरहेको पाइएको जानकारी दिए । उनले मनपरी उत्खनन् रोक्न रौतहटका प्रमुख जिल्ला अधिकारीसँग तत्कालै टेलिफोनमा कुरा गरेर तत्कालै बन्द गर्न आग्रह गरेको सुनाए । उनले यस विषयमा दुई जिल्लाको अधिकारीहरुको बैठक बसेर कदम चाल्ने बताए । ‘रौतहठमा ठेक्का लागेर उत्खनन् भइरहेको भन्ने बुझेका छौं,’ प्रजिअ कडरियाले भने, ‘जताबाट ठेक्का लगाएको भए पनि यसरी जथाभावी उत्खनन् गर्न पाइँदैन, हामी तत्काल बैठक बसेर उचित कदम चाल्छौं ।’
प्रजिअसहितको टोली अनुगमनमा आएको सूचना पाएपछि बागमती नदीमा उत्खनन् गरिरहेको तीन वटा एस्क्साभेटर नजिकैको मकैबारीमा लुकाएर राखिएको भेटिएको थियो । अबैध उत्खनन्को प्रस्ट प्रमाण देखिँदा पनि सुरक्षा टोलीले एस्क्साभेटर तथा टिपर नियन्त्रणमा लिन सकेनन् ।
बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्रृद्धिप्रकाश सिटौलाले बागमती नदीको सहनी टोल घाटमा ठेक्का लाग्न नसकेको जानकारी दिए । उनले ठेक्काको सूचना निकाले पनि स्वीकार गर्न कुनै पनि कम्पनी नआएकाले ठेक्का नलागेको बताए ।
नगरपालिका तथा अन्य सम्बद्ध निकायबाट मापदण्ड अनुसार उत्खनन् भए नभएकोबारे नियमित अनुगमन र नियामन नहुँदा बागमती नदीको विभिन्न घाटबाट दैनिक मनपरी ढंगले नदीजन्य पदार्थको दोहन भइरहेको स्थानीयको गुनासो छ । जथाभावी उत्खनन्ले वर्षायाममा बर्सेनि यहाँ कटान तथा डुबानको जोखिममा बस्नुपरेको स्थानीयको गुनासो छ ।
