शिख धर्मावलम्बीहरूले वैशाखीलाई नयाँ वर्षका रूपमा मात्र नभई खालसा पन्थ स्थापना दिवसका रूपमा पनि मनाउने गर्छन्।
पर्सा — वीरगन्जका शिख समुदायले ३२७ औं वैशाखी पर्व धुमधामका साथ मनाएका छन् । स्थानीय गुरुद्वारा साहेबमा आइतबारदेखि नै पर्व लक्षित कार्यक्रमअन्तर्गत अखण्ड पाठ साहेब र शबद कीर्तन सन्चालन हुँदै आएको थियो ।
मंगलबार गुरुद्वारा साहेब परिसरमा शिख तथा गैर–शिख समुदायका महिला, पुरुष र बालबालिकाको उल्लेख्य उपस्थितिमा यसको समापन गरिएको हो । शबद कीर्तनपछि सहभागीहरूबीच नयाँ वर्षको शुभकामना आदान–प्रदान गरिनुका साथै लंगर अर्थात् प्रसाद वितरण गरिएको थियो।
शिख समुदायका अगुवा जसपाल सिंहका अनुसार यस वर्ष वैशाखी विशेष रूपमा विश्व शान्तिको कामना गर्दै मनाइएको हो । ‘समुदायले युद्धको अन्त्य र विश्वमा शान्ति स्थापनाको कामना गर्दै प्रार्थना गरेको छ,’ उनले भने ।
शिख धर्मावलम्बीहरूले वैशाखीलाई नयाँ वर्षका रूपमा मात्र नभई खालसा पन्थ स्थापना दिवसका रूपमा पनि मनाउने गर्छन्। सिंहका अनुसार सन् १६९९ मा भारतको पन्जाबस्थित आनन्दपुरमा दशौँ गुरु गोविन्द सिंहले खालसा पन्थ स्थापना गरेका थिए। सोही दिन गुरुनानकजी महाराजले प्रारम्भ गरेको शिख पन्थलाई खालसा स्वरूपमा रूपान्तरण गरिएको विश्वास गरिन्छ।
शिख समुदायले वैशाखीलाई गुरुनानक जयन्तीपछि दोस्रो ठूलो पर्वका रूपमा मनाउने परम्परा छ ।
