'उहाँ हुन सक्ने सम्भावित ठाउँमा पुगिरहेका छौं, यसबीचमा उहाँले ठाउँ परिवर्तन गर्नुभएको पनि देखिन्छ,' खोजीकार्यमा जुटेका एक प्रहरीले भने, 'हामी खोजेको खोज्यै छौं, उहाँ भागेको भाग्यै गर्नुभएको छ ।'
सिरहा — सिरहा नगरपालिकाका प्रमुख नवीनकुमार यादव आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि मोबाइल स्विच अफ गरेर बसेका छन् । नगरपालिकामा कार्यरत कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा पक्राउ पुर्जी जारी भएपछि उनी मोबाइल स्विच अफ गरेर बसेका हुन् ।
नगर प्रमुख यादवले गत सोमबार बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात्ती र मुक्काले कुटपिट गरेका थिए । यसै घटनामा अभद्र व्यवहार मुद्दा दर्ता गरी उनीविरुद्ध प्रहरीले बिहीबार पक्राउ पुर्जी जारी गरेको हो ।
पक्राउ पुर्जी जारी भएपछि उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले बताए । तर, प्रहरीले अझै उनलाई नियन्त्रणमा लिन सफल नभएकाे उनले बताए ।
बिहीबार अपराह्नसम्म मोबाइल अन नै राखेका उनी बेलुकीदेखि मोबाइल अफ गरेर बसेका छन् । 'उहाँ हुन सक्ने सम्भावित ठाउँमा पुगिरहेका छौं, यसबीचमा उहाँले ठाउँ परिवर्तन गर्नुभएको पनि देखिन्छ । भारत भागेको आशंका पनि छ,' खोजीकार्यमा जुटेका एक प्रहरीले भने, 'हामी खोजेको खोज्यै छौं, उहाँ भागेको भाग्यै गर्नुभएको छ ।'
यसै घटनामा संलग्न रहेका नगरपालिकाका कर्मचारी रोहित मेस्तर भने प्रहरी नियन्त्रणमा छन् । उनलाई जिल्ला प्रहरी कार्यालय, सिरहाको हिरासतमा राखिएको छ । कुटपिटबाट घाइते रामशरणको विराटनगरमा उपचार भइरहेको छ ।
