विषयगत शिक्षक अभावले बारामा एसईई उत्तरपुस्तिका परीक्षणमा कठिनाइ

विषयगत शिक्षकको अभावका कारण बाराका अधिकांश परीक्षा केन्द्रमा एसईईको उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भइरहेकाे छ ।

चैत्र २१, २०८२

लक्ष्मी साह

Difficulty in testing SEE answer sheets in Bara due to shortage of subject-specific teachers

What you should know

बारा — महागढीमाई नगरपालिका-१० गञ्जभवानीपुरस्थित भोला मावि परीक्षा केन्द्रमा ४ वटा विद्यालयको ३ सय ७५ परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका छन् । तर, यहाँ गत बिहीबार र शुक्रबार क्रमश: भएको अंग्रेजी र नेपाली विषयको उत्तरपुस्तिका परीक्षण गर्न सकिएको छैन् । 

एक महिनाभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखेको सरकारले तीन दिनभित्रमा हरेक विषयको उत्तरपुस्तिका परीक्षण सक्नुपर्ने समयसीमा निर्धारण गरे पनि विषयगत शिक्षक अभावले समस्या भइरहेको केन्द्राध्यक्षहरुले जनाएका छन् ।

‘कम समय र विषयगत शिक्षक अभावले उत्तरपुस्तिका परीक्षणमा मुस्किल भइरहेको छ,’ भोला माविका केन्द्राध्यक्ष भोलाप्रसाद कुसवाहाले भने, ‘परीक्षणको लागि विषयगत शिक्षक जुटाउनै धौधौ परिरहेको छ, अर्को विद्यालयबाट शिक्षक बोलाउन खोज्दासमेत पाउन कठिनाइ छ ।’ बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म खटिँदासमेत समयसीमाभित्र उत्तरपुस्तिका परीक्षणको काम हुन नसकिएको उनले बताए । 

सिम्रौनगढ नगरपालिका–६ को कंकाली माविमा ४ वटा विद्यालयको परीक्षा केन्द्र छ । त्यहाँ दैनिक ३ सय ५० परीक्षार्थीले परीक्षा दिइरहेका छन् । त्यहाँ पनि गञ्जभवानीपुर केन्द्रकै जस्तो समस्या छ । यो विद्यालयमा मावि तहका विषयगत शिक्षक ५ जना मात्र छन् । ‘पहिलो दिनको अंग्रजी विषयको उत्तरपुस्तिका परीक्षणका लागि ४ जना विषयगत शिक्षक जुटाएर परीक्षण गर्दा पनि सम्भव भएन,’ कंकाली मावि परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्ष विद्यानन्द यादवले भने, ‘एक शिक्षकले दिनभरमा बढीमा ४० उत्तरपुस्तिका दैनिक परीक्षण गरेका छन् ।’ 

शुक्रबार नेपाली विषयको उत्तरपुस्तिका परीक्षण गर्न ८ जना शिक्षक जेनतेन जुटाए पनि तोकिएको समयभित्र परीक्षण गर्न नभ्याएको उनले बताए । ‘मावि तहका विषयगत शिक्षकको सबैतिर अभाव छ,’ उनले भने, ‘जिल्लामा विष्यगत शिक्षक अभावले कठिनाइ भइरहेको छ ।’ परीक्षण गर्ने शिक्षक अभाव र उत्तरपुस्तिका शिलबन्दी गर्नुपर्ने, सुरक्षा निकायमा बुझाउनुपर्ने, अंकको अभिलेखलगायत काम भ्याउन धौधौ भइरहेको उनले बताए ।  

सरकारले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरी एक महिनाभित्र नतिजा ल्याउने लक्ष्य लिएको छ । तर, उत्तरपुस्तिका परीक्षणका लागि चाहिने परीक्षक (विषयगत शिक्षक) को अभावले समयमै उत्तरपुस्तिका परीक्षण हुनेमा चुनौती थपिएको केन्द्राध्यक्षहरुले बताउँछन् । ‘यो समस्या भने एकाध परीक्षा केन्द्रमा छैनन्,’ केन्द्राध्यक्ष कुसवाहाले भने, ‘जिल्लाभर समस्या छ ।’ बारामा ३० वटा परीक्षा केन्द्र छन् ।  

जिल्लामा सबै विषयका मावि तहका शिक्षकको अभाव रहेको शिक्षा समन्वय इकाई प्रमुख अशोकप्रसाद रौनियार स्वीकार्छन् । ‘प्रावि, निमावि तहका भए पनि ‘म्यारिट’ र अध्यापनमा पोख्त भएकाबाट परीक्षण गराइरहेका छौं,’ उनले भने । 

शिक्षा समन्वय इकाई बाराका प्रशासन फाँटका कर्मचारी उपेन्द्र चौधरीकाअनुसार जिल्लामा रहेका १ सय ६३ सामुदायिक र नीजि विद्यालयका १० हजार ८ सय १४ परीक्षार्थीले जिल्लाभरका ३० वटा परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन् । परीक्षकको व्यवस्थापनमा चुनौती भए पनि सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइरहेको उनले बताए । ‘जिल्लामा सबै विषयका मावि तहका १ सय ६९ जना मात्र विषयगत शिक्षक छन्,’ उनले भने, ‘जबकि यसको दोब्बर भन्दा बढी विषयगत शिक्षक आवश्यक छ ।’ 

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully