डेढ दशकदेखि सदा दम्पतीको त्रिपालमूनि बास

सरकारी जग्गामा घर बनाउन खोज्दा अवरोध भएपछि बसन्त सदाको परिवारले १५ वर्षदेखि त्रिपालमुनि कष्टपूर्ण जीवन बिताउनुपरेको छ।

चैत्र २०, २०८२

विद्यानन्द राम

The couple has been living under a tent for a decade and a half.

What you should know

राजविराज — सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरका बसन्त सदाले बाल्यकालमै बुवा गुमाए । बुवाको मृत्युपछि आमा रेमनीदेवी सदालाई मजदुरीबाट आउने ज्यालाले छाक टार्नै कठिन भयो । बसन्तले बाल्यकालदेखि नै घरेलु कामदारका रुपमा काम गर्ने बाध्यता आयो । तर, उनका बुवा सिल्ट सदाले पूर्वतिरको मुसहरी टोलमा अर्काको जग्गामा घर बनाएका कारण उनीहरु त्यहाँ लामो समय बस्न पाएनन् । सुकुम्बासी आमाछोरा बसन्त १५/१६ वर्षकै हुँदा त्यहाँबाट उठीबास हुन पुगे ।

बासस्थान खोज्दै उनीहरु धेरै ठाउँमा भौतारिए । लामो समयसम्म आमाछोराले बासस्थानका लागि जग्गा पाएनन् । ‘त्यो बेला अहिलेकोभन्दा जातीय छुवाछुतको अवस्था ज्यादै भयावह थियो । दलितको नाम सुन्ने बितिकै गाउँ आसपासका ऐलानी जग्गामा पनि बस्न दिइदैन्थ्यो,’ उनले भने, ‘खोज्दै जाँदा कमलपुरकै पोखरीको डिलमा ३ धुर जति खाली ऐलानी जग्गा पाए । त्यहाँ पहिलादेखि नै सदा समुदायको बसोबास रहँदा त्यहाँ घर बनाउन असहज भएन ।’ बसन्त बिहे गरेर परिवारको दैनिकीमा लागे । 

सदा दम्पतीले दुई छोरा र दुई छोरी पाए । छोराछोरी ठूलो हुँदै जाँदा सबै जनालाई एककोठे घरमा बस्न समस्या भइरहँदा बसन्तले त्यहीँमा दुई वटा कोठा छुट्याए । तर, सदा दम्पतीका छोराहरु आजाद र अगरको बिहे गराएपछि उनीहरुलाई सुत्ने–बस्ने ठाउँ नै रहेन । ‘बुढाबुढी केही समय त बाहिरै सुत्यौं,’ बसन्तले भने, ‘फेरि सधैं बाहिरै सुतेर पनि त हुँदैन । बुढाबुढीका लागि एउटा घर बनाउन जग्गा खोज्दै यहाँ आइपुगे ।’ 

उनीहरु डेढ दशकअघि नै खोला किनारमा बसाइँ सरे । त्यहाँको उनीहरुले सरकारी जग्गामा २५ ट्रली माटो पुरेर घर निर्माण पनि सुरु गरे । तर, घर बन्नुअघि नै उनीहरुले गाडेका पिलर स्थानीयले राजनीतिक द्वेषका कारण उखालिदिए । जोहो गरेर जसोतसो जम्मा गरेका पिलर भत्काइदिँदासमेत सदा दम्पतीले बोल्न सकेनन्। त्यसपछि पनि उनीहरुले घर बनाउन पटक–पटक प्रयास गरे । तर, डेढ दशकसम्म पनि अवरोध कायमै रहँदा सदा दम्पती र उनीहरुका नातिनातिनी त्रिपालको टहरामा कष्टपूर्ण दैनिकी काट्न बाध्य छन् ।

सदा दम्पतीका लागि २०६९/०७० मै जनता आवास अन्तर्गत पक्की घर बन्ने पनि निश्चित भइसकेको थियो । तर, जग्गा विवादकै कारण उनको घर बन्न सकेन । ‘यो गाउँ आसपासमा मात्रै ९५ विघा सरकारी र ऐलानी जग्गा छ तर अधिकांश जग्गा यहाँका हुनेखानेले हड्पेर पक्की घरसम्म बनाइसकेका छन्,’ ६२ वर्षका बसन्तले भने, ‘मैले यहाँ १०/१२ धुर जग्गामा मात्रै बासस्थान बनाउन खोज्दा दलित भएर बन्न दिएको छैन ।’

बाध्य भएर श्रीमती ६० वर्षकी पुनमदेवी र छोरीपट्टीका २ जना नातिनातिनीसहित त्रिपालको टहरामा बस्दै आएको बसन्तको दुखेसो छ । ‘आफु र छोरीपट्टीका नाति मिलेर ज्याला मजदुरी गर्दा जसोतसो छाक टार्दै छौं । त्रिपालमा सुतिरहेका बेला वर्षा र हावाहुरी आउँदा रातभरि सुत्नै पाउँदैनौं,’ उनले भने, ‘त्यसबखत चारै जनालाई अर्काको घरपर्खालमा ओत लागेर वर्षा र हावाहुरी शान्त नभएसम्म बस्दै आएका छौं ।’ गर्मीको बेला टहराभित्र सुत्न झनै कठिन हुने गरेको उनले बताए । आर्थिक रुपमा अति विपन्न रहेको सदा परिवार अर्काकै चापाकलबाट पानी भरेर पिउँदै आएको छ । बेलाबखत पानी भर्न नदिँदा करिब एक किलोमिटर टाढा पुगेर पानी भरेर ल्याउनुपर्ने बाध्यता रहेको बसन्तले सुनाए । ‘दलित भएर होला कसै–कसैले त पानी भर्न पनि दिँदैनन् । हाम्रो समस्या बुझ्ने र हेर्ने कोही भएन,’ उनले भने, ‘नयाँ सरकारले हाम्रो समस्या बुझ्ला भन्ने अपेक्षा छ ।’  

सदा दम्पतीका आजाद र अगर गरी दुई छोरा छन् । उनीहरुका श्रीमती र ७ जना सन्तान छन् । दुवै छोरा भारतको पञ्जाबमा मजदुरी गरेर परिवारको गुजारा चलाइरहेका छन् । त्यहाँ एउटा घरमा छुट्याइएको दुई वटा कोठामा दुवै बुहारी र नातिनातिनीहरु बस्दै आएको बसन्तले बताए । ‘बुढाबुढी बस्नका लागि त्यहीँ पनि एउटा झुप्रो बनाउन सोचेकै हो तर ठाउँ अभाव हुँदा यहाँ सरे । खासै विरोध पनि छैन् । यहीँ गाउँका रघुनन्दन यादवले मात्रै विरोध जनाइरहनुभएको छ,’ उनले भने, ‘उहाँ (रघुनन्दन)ले कति पनि आग्रह गर्दासमेत मान्नुभएन । वडाध्यक्षले पनि हामी दलित गरिबको कुरा सुन्नहुन्न ।’

रघुनन्दनले पञ्चायतीमा भएको सल्लाहअनुसार बसन्तलाई अर्काले छेकेर राखेको जग्गामा घर बनाउन नदिएको बताए । ‘स्थानीत तह आउनुअघि सबैको सल्लाहमा बसन्तलाई त्यहाँको पोखरी ठेक्का दिँदा उनी त्यही बस्न थाले । तर त्यसअघि ती ऐलानी जग्गा अरुले छेकेर राखेको थियो । पञ्चायतीको निर्णयले घर बनाउन रोकेको मात्रै हो । पिलरहरु भत्काएको छैन,’ उनले भने, ‘बसन्त पहिला बसिरहेकै ठाउँमा पनि खाली जग्गा छ । त्यहाँ गएर बस्न पटकपटक भन्दा पनि अर्काको उक्साहटमा परेर जान नमानी त्यही अवस्थामा बसिरहेका छन् ।’

निर्वतमान वडाध्यक्ष ललितप्रसाद सिंहले बसन्तको घर बनाउन आफ्नो कार्यकालमा प्रयास गर्दा पनि अन्य जनप्रतिनिधिको विरोधका कारण सम्भव नभएको बताए । ‘त्यहाँ केही व्यक्तिले जातीयताका कारणले बसन्त सदाको घर बन्न दिएको छैन,’ उनले भने, ‘सदा डेढ दशकदेखि बसेको र त्यस आसपासका सबै सरकारी जग्गा हो । उत्तरतर्फको बाँसघारी मात्रै डेढ विग्घा सरकारी जग्गा हो । सदालाई घर बनाउन १० धुर जग्गा दिँदा केही फरक पर्दैन ।’ 

वडाध्यक्ष जितेन्द्रकुमार यादवसँग सम्पर्क हुन सकेन । गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले ती समस्याका विषयमा आफुसमक्ष औपचारिक जानकारी नआएको बताए । ‘एक वर्षअघि यो कुरा कसैले सुनाउनुभएको थियो तर औपचारिक रुपमा गुनासो वा निवेदन दिन कोही आएनन्,’ उनले भने, 'बुझेर समाधानको प्रयास गर्छु ।’ 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully