उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको हो ।
जनकपुर — सशस्त्र प्रहरी जनकपुर गणअन्तर्गत धनुषाको लालगढ क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका इन्सपेक्टर ओकिल अधिकारी घुस रकमसहित पक्राउ परेका छन् ।
अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले ४० हजार घुससहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी धनुषाका एसपी भीमबहादुर विष्टले इन्सपेक्टर अधिकारी पक्राउ परेको विषयमा बुझ्ने काम भइरहेको प्रतिक्रिया दिए । एसपी विष्ट धनुषामा भर्खर खटिएका हुन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केवर–बागमती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङमा प्रयोग हुने गाडीलाई अवरोध गर्ने र पैसा असुल्ने उजुरीको आधारमा आयोगको टोलीले शुक्रबार सशस्त्र प्रहरीका इन्सपेक्टर अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको आयोगको बर्दिवासस्थित कार्यालयले जनाएको छ ।
