२२ वर्षीय वैभव ढुंगाना र २३ वर्षीय सुरेश श्रेष्ठको मृत्यु
बारा — बाराको निजगढमा बुधबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृतक दुवै चालक हुन् ।
मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–७ का २२ वर्षीय वैभव ढुंगाना र निजगढ नगरपालिका–६, धियाल टोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् । दुवै जना मोटरसाइकलमा एक्लाएक्लै सवार थिए ।
सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्रदेश–०२–०४२ प ९८२४ नम्बरको मोटरसाइकल ढुंगानाले चलाएका थिए भने बागमती प्रदेश–०३–००४ प ३६६१ नम्बरको मोटरसाइकल श्रेष्ठले चलाएका थिए ।
मोटरसाइकल एकापसमा ठोक्किँदा गम्भीर घाइते भएका दुवैलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल पुर्याउँदा चिकित्सकले उनीहरूको मृत्यु भइसकेको घोषणा गरेका थिए।
