तारेख बुझेर पर्सा जिल्ला अदालतबाट बाहिरिए लामिछाने

जिल्ला अदालतका श्रेष्तेदार प्रभाकर मल्लिकका अनुसार अदालतमा बुधबार लामिछानेको तारेख थियो । उनको अर्को तारेख २४ वैशाखमा छ ।

चैत्र १८, २०८२

शंकर आचार्य

Lamichhane leaves Parsa District Court after learning the date

पर्सा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत पुगेर तारेख बुझेका छन् । सहकारी ठगीसम्बन्धी मुद्दामा उनले जिल्ला अदालत पुगेर बुधबार तारेख बुझेका हुन् ।

जिल्ला अदालतका श्रेष्तेदार प्रभाकर मल्लिकका अनुसार लामिछानेको अदालतमा बुधबार सादा तारेख थियो । उनको अर्को तारेख २४ वैशाखमा छ । यसअघिको पेशीमा पर्सा जिल्ला अदालतले सहकारी ठगीसम्बन्धी मुद्दामा लामिछानेसँग माग गरेको १ करोड रुपैयाँ धरौटी राखेर यो मुद्दामा उनी सादा तारेखमा थिए । यसअघिको पेशीमा न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासले उनीसँग उक्त धरौटी मागेको थियो ।  

जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसँग ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागसहित जिल्ला अदालतमा ३० जेठमा सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र दर्ता गरेको थियो ।

सहकारी ऐन २०७४ र संगठित अपराध निवारण ऐन २०७० लाई टेकेर अभियोगपत्र दर्ता गरिएको थियो । सहकारी ऐन २०७४ को दफा १२४ अनुसार १० करोडभन्दा बढी १ अर्बसम्म बिगो भएकाले लामिछानेलाई ६ देखि ८ वर्षसम्म कैद सजाय पनि हुनसक्छ ।

यसबाहेक उनीमाथि संगठित अपराध निवारण ऐन २०७० को दफा ९ को खण्ड (क) र (ग) बमोजिम थप सजाय समेत माग गरिएको छ । जसअुनसार उनलाई प्रचलित कानूनको अतिरिक्त ५० प्रतिशत थप सजाय पनि हुन सक्छ । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully