घटनापछि होटल सञ्चालक रामपुकार साह तथा होटलमा कार्यरत अन्य कामदार फरार रहेको प्रहरीले जनाएको छ ।
जनकपुर — पूर्वपश्चिम राजमार्गस्थित धनुषाको ढल्केबरको एक होटलमा युवती मृत फेला परेकी छन् ।
मिथिला नगरपालिका–६ ढल्केबरमा रहेको जुनतारा स्टाप लाइन होटलमा मंगलबार करिब साढे ११ बजेतिर पोखरा महानगरपालिका–१३ मियापाटीकी २३ वर्षीया जेनिसा विक मृत अवस्थामा भेटिएकी इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जनाकारी दिए ।
उनको मृत्यु के कारणले भएको हो ? प्रहरी अनुसन्धानमै रहेका बेला होटल सञ्चालन भने फरार भएका छन् ।
उनका अनुसार मृतकको मुखबाट फिज निस्किएको छ, शरीरका अन्य भागमा चोटपटक देखिएको छैन । घटनापछि होटल सञ्चालक रामपुकार साह तथा होटलमा कार्यरत अन्य कामदार फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको खोजीकार्य भइरहेको जनाएको छ ।
प्रहरीले घटनास्थलमा आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाएको छ ।
